ल्होसारको उपहार

admin February 2, 2010 0

ल्होसारको उपहार
कृष्ण बहादुर गुरुङ

यसो त ल्होसार नमनाएको पनि धेरै बर्ष भयो । कारण: पहिले साँझ बिहानको गांस जुटाउन घरबाट टाढा हुनु र अहिले प्रबासको ब्यस्त जिबन शैली। तैपनी न्यु योर्कको ब्यस्त जिबन शैलीलाइ एक छिन् पूर्णबिराम लगाउन नसके पनि कमा मात्रै भए पनि लगाउँदै मेरो परिवारले यो बर्ष ल्होसार मनाउने तैयारी गरिरहेका छौ। ल्होसारलाई ल्होसार वा ल्होछार के लेखिन्छ-भनिन्छ भन्या पनि कतै फेला पारेथेँ । ग्रेप, अँगुर र द्रक्षाफल जुन नामले पुकारे पनि एउटै फलहो भने झै आ-आफ्नो भाषाभाषी र सामुदायमा यो पर्वलाई जुन नामले नयाँ बर्षको रुपमा चिनाउँछ, त्यही लेखानुस्-भन्नुस्, के फरक पार्ला र? मेरो समुदायमा ल्होसार वा छेङ्गु नामले यो पर्वलाई चिनाउने हुनाले म चाँहीं ल्होसार लेख्न रुचाउंछु-लेख्छु है!

स्वदेशमा भए बर्षको एक पल्ट मात्रै भए पनि घरलाइ लिपपोत गरेर सझाउनुका साथै घरको सम्पूर्ण बर्तनहरुलाई दोइ पखली चम्काइन्थ्यो। तर प्रबासमा त त्यत्रो सजिसजाउ गर्ने समयनै कहाँ छ र? दाँत मल्ने फुर्सद त नभएको बेला। तैपनी हामीले यो बर्ष न्यु योर्क वरपरका ठाउँहरु घुमेर किन्मेल गर्दै ल्होसारको तैयारी गर्ने योजना बनायौ । योजना अनुसार न्यु योर्क शहरबाट दुई घण्टे बस चढेर पलिसाइद मल (palisades center mall) पुग्यौ। यहाँको ग्रामीण बस्तिहरुको अवलोकन गर्नुका साथै ल्होसारको अवसरमा आफन्तजनहरु र साथीभाइहरुलाई एकुन्टा उपहार हाल्ने मनासायले यो मलको सबै तलाहरु डुल्यौ। सरसामानहरु किनमेल गर्यौ। समय बित्तै जाँदा भोकाएकोले त्यही मलको फुडकोर्टमा रहेको लिटिल टोक्यो भन्ने रेस्टुरेन्टको काउन्टर अगाडि श्रीमतिसँग के खाने भन्ने बारेमा छलफल गरिरहेका थियौ। काउन्टरबाट “नमस्ते दाई! नमस्कार भाउज्यु!” भनी नेपालीमा सिष्टचारको आवाज आयो। हामी एकै छिन् अलमल पर्यौ। न्यु योर्कमा मलाई दाई भनेर पुकार्ने कोही थिएन। न्यु योर्कमा त के नेपलमै पनि थिएन किनकी चार जना दिदिहरु पछी म सबै भन्दा कान्छो थिएँ। हामीलाई अलमल्ल देखेकोले होला “तपाइहरु नेपाली हैन?” भनेर काउन्टरबाट प्रश्न आयो।
उनले तपाईंहरु ब्रहमन, छेत्री, गुरुङ , मगर आदी जाती हैन? भनेर सोधेन। उनले तपाईंहरु हीमाली, पहाडी र मदेशी आदी हैन? भनेर पनि सोधेन। उनले तपाईंहरु बौद्ध, हिन्दू, मुस्लिम आदी धर्मवलम्बी हैन? भनेर पनि सोधेन। मात्रा नेपाली हैन? भनेर सोध्यो। प्रबासमा हुँदा नेपाल र नेपालीको अर्थ र महत्व कत्तीको हुँदो रहेछ हामीले अनुभब गर्यौ। यि कुरा हालका नेपाली रजनितिक नेताहरुले कसरी महसुस गरोस्? जेहोस्, हर्ष र आश्चर्यका साथ हामीले पनि उनको जाती, धर्म र प्रदेश नसोधी आफ्नो परिचय दियौ।
प्रबासमा दाई भनेर पुकार्ने नेपाली भाई पएकोमा खुशी ब्यक्त गर्यौ तर हामी भन्दा उनी बढी खुशी थिए । कारीब एक बर्ष अगी डि.भि परेर आए देखी live-in काम गरेर बसेकाले पहिले चोटि नेपालीसँग भेट हुँदा आफ्नै घर परिवार भेटेको भाव उनको थियो । छोटो बातचितमा हामीले पनि आफ्नो फोन नम्बर दिँदै न्यु योर्क शहर आएमा डेरामा आउन निमन्त्रणा दियौ । न्यु योर्कमा धेरैले “सोल्टी” भनेर बोलाउने हुँदा आज पहिलो चोटि दाई भने शब्दले पुकारीएकोमा हर्षित थिएँ अर्थात भाई नाता फेला परेकोमा हर्षित थिएँ । ल्होसारको दिन सबेरै उठेर पानी भर्न जाने परिश्रमि र इमान्दार मान्छेलाई बहुमुल्य रत्न वा शि आदी फेला पर्छ भनेको सुनेथे तर मैले भाई नै फेला पारेँ।

मलाई ल्होसारको उपहारमा दाई भनेर पुकार्ने नेपाली भाई पाएकोमा मलाई बधाई छ। यसरी नै सम्पूर्ण प्रबासी नेपाली दाजुभाइ र दिदीबहिनिहरुलाई यो ताक्लो ल्होसारले उपहारको रुपमा सुख, सम्रिद्दी र पारिवारिक पुनरमिलन ल्याओस भन्ने कामना गर्दछु । अनी स्वदेशमा रहेका सम्पूर्ण नेपाली र मेरो देश नेपाललाई यो ल्होसारले हालको बिक्रिती, बिसङ्गती, आरजकता र दन्डहिनतालाई उनमुल पार्न सजिलै कार्यन्वयन हुनसक्ने खालको नयाँ संबिधान उपहारको रुपमा समयमै ल्याओस। शान्ती, स्थिरता र बिकास पनि सँगै ल्याओस भन्ने कामना र प्रथाना गर्दै यदी यहाँको फुर्सद भए फेब्रुअरी ६ तारिकका दिन ६३० 34 St, Armenian Church मा मेरो समुदायको ल्होसार सँगै मनाउला आउनुस् भने निमण्त्रणा गर्दै ल्होसार टशिदेले टक्राउँछु। स्विकार्नुहोला । ।

Share

Leave A Response »