हिमाली स्वरहरु – कथा संसारमा कृष्णचन्द्र सिंह प्रधानको रचना सुनौ

कथा संसारमा कृष्णचन्द्र सिंह प्रधानको रचना सुनौ

admin July 13, 2010 0


साहित्यकार एब समालोचक कृष्णचन्द्र सिंह प्रधानको निधन भएको छ| उहाको सम्झनामा हिमाली स्वरहरु मधुपर्कबाट साभार गरिएको “उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनूँ ?”प्रस्तुत गर्दै छौ |हार्दिक श्रदा सुमन सहित सुनौ आजको कथा संसार…
“सहस्र ताराको आकाश एउटै छ । बेग्लाबेग्लै जातिहरूको देश पनि एउटै हो । आकाशको धर्तीलाई ताराहरूको संसार भन्यौँ । देशले चर्चेको आकाशलाई हाम्रो धर्ती भन्यौँ । जब यो पनि टुक्रिएर करेसोबारी पो हुँदैछ । हामी त मात्रै मधेसी बन्दैछौँ, थारू हुँदैछौँ । हामी त मात्रै खुम्बुवान्, नेवा, मगर केके भएर चिनिन आतुर छौँ ।”
पढ्नु होस् पुरा लेख :
कृष्णचन्द्रसिंह प्रधान

दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ?अँध्यारोलाई अँध्यारो भन्न सक्तिन थिएँ । रातलाई दिन भनेर हुचीलले झैँ अघाउञ्जेल उनीहरूको गीत गाइरहेँ । प्रशंसामा कोरीकोरी कागज लेखेँ, कागज रङ्गरिहे । इतिहास भइसकेको त्यस कालखण्डलाई सम्झँदा अहिले कहाली लाग्छ । हामी रोमाञ्चित हुन्छौँ ।

मौसम बदलियो । छ्याङ्गै घाम लागेको आकाश छ । भुँइभरी जून, तारा । यस खुसियालीमा हामीले न्यानो बाँड्यौँ । साटासाट गर्‍याँंै बधाइ र भिंतुनाहरू एक आपसमा तर शिरमाथिको घाम घरदैलोमा छिर्नै पाएको छैन हामी उज्यालो खोज्दै हिँडिरहेका छौँ सडकसडकमा फेरि मसाल बोकेर । हामीले बगाएको रगत सुकेकै छैन फेरि अर्को कोतपर्वको तैयारीमा जुटेका छौँ । जहिले हेर सडक बन्द, बजार बन्द । सधैँसधैँ जुलुस, हडताल, अपहरण, मूर्दावाद र जिन्दावाद छ । देश त कुरुक्षेत्र भएछ । कुरुवंशका हामी भाइभाइ कौरव-पाण्डव पो भएछौँ ।

ग्रहण लागेझैँ टेक्दै गरेको अँध्यारोलाई के नाम दिउँ ?

परिभाषाले थुम्कोलाई हिमाल बनाइदिन्छ, फेवातालहरू भैँसी आहाल बस्ने पोखरीमा परिणत हुन्छन् । फोहर थुपार्ने ल्याण्डफिल्ड भइदिन्छन् हाम्रा सपनाहरू, र नयाँ नेपाल कवाडीखानामा रूपान्तरित हुन्छ ।

मैले परिभाषा खोजेको होइन । मैले परिभाषित गर्ने उज्यालो चाहेको पनि होइन । मैले आफ्नै भविष्य भनिरहेको पनि होइन । अँध्यारोमा एकमुठी उज्यालो मात्रै खोज्दैछु । लोडसेडिङले भएकै उज्यालो पनि खोसेछ । अहिले हामी अँध्यारोको घनिभूत शून्यतामा छौँ । कोशी, गण्डकी त अरूलाई दियौँ दियौँ, मेलम्ची पनि आफ्नो होइन कि लागिरहेछ । एकार्काको असहयोगमा पराइ लाग्ने देश, हामी मानिस र भूखण्डहरू हामी होइनौँ, हाम्रो होइन रहेछ । पानीबिनाको मरुभूमिझैँ काकाकुल छौँ सबैतिर ।

लाग्छ देश सबैले स्वीकारेको स्थलीकृत विविधताको सीमाङ्कति भूगोल होइन । लाग्छ देश थरीथरीका जातिहरूको फूलबारी पनि होइन रहेछ । आ-आफ्नो पहिचानभरिको भौगोलिकतामा हामी देश रोप्दैछौँ । एकौटा राज्य भएर आफैँभित्र आ-आफ्ना देश खोज्दैछौँ ।

सहस्र ताराको आकाश एउटै छ । बेग्लाबेग्लै जातिहरूको देश पनि एउटै हो । आकाशको धर्तीलाई ताराहरूको संसार भन्यौँ । देशले चर्चेको आकाशलाई हाम्रो धर्ती भन्यौँ । जब यो पनि टुक्रिएर करेसोबारी पो हुँदैछ । हामी त मात्रै मधेसी बन्दैछौँ, थारू हुँदैछौँ । हामी त मात्रै खुम्बुवान्, नेवा, मगर केके भएर चिनिन आतुर छौँ ।

देश भएर चिनिँदा सायद हामी आफ्नो जातीयता हराउँछौँ । जाति भएर चिनिँदा सायद देशले उनीहरूलाई आफ्नो भन्ने छैन । वास्तवमा पहिले हामी त्यही थियौँ, अहिले पनि हामी त्यही हौँ । यसलाई मासेर मात्रै नेपाली भन्नेहरू आफैँ मासिए । हामीबिना देशका थारू होइनौँ, लिम्बूवानी होइनौँ, मगराती पनि होइनौँ जस्तो थारू, मधेसी, पहाडीबिनाको देश देशै होइन । त्यसैले मभन्छु हो म मधेसी हुँ, म थारू हुँ, म गुरुङ हुँ, म शेर्पा, मगर, लिम्बू, नेवार खुम्बुवानी सबै हुँ र म नेपालको हुँ, त्यसैले नेपाली पनि हुँ ।

जो जहाँ जसरी छौँ, जे हौँ त्यहीत्यही भएर हामी नेपाली हौँ । नेपाली भन्ने बित्तिकै म तिनीहरूलाई देख्न थाल्छु-त्यही अनुहारका थेप्चे, लामा नाक, पुड्का कद, चिम्से गहिरा आँखा, कालो रङ, त्यही धोती, कछाड, लुङ्गी, लबेदा, भोटो, कुर्ता, बक्खु लगाउने मान्छेहरू । कसले भन्छ त्यहाँ नेपाल छैन ? हामी छैनौँ ?

म तिनीहरूमा मान्छे खोज्दै हिँडिरहेँछु । थाहा छ बिनामान्छेको मान्छे हामी होइनौँ । यो पनि थाहा छ मान्छे भएर पनि मान्छे नलाग्ने मान्छे पनि हामी हौँ । त्यसैले तिमीमा, म आफूभित्र, हामी सबैमा सही मान्छे खोज्दै छु । त्यसको मृत्यु वा रिक्ततामा सायद त्यहाँ तिमी हुने छैनौ, म हुनेछैन, हामी कोही हुने छैनौँ । तिम्रो मधेसी, मेरो नेवार, उसको लिम्बू कोही पनि हुँदैनौँ । यसभित्र अवस्थित मान्छे नै हामी हौँ । अर्थात् हामी मधेसी, हामी पहाडी, हामी हिमाली, हामी नेपाली । हामीभित्रको यही मान्छेलाई म खोजिरहेँछु ।

यसमा पनि पहिरो जाँदैछ सायद । यहाँ पनि भैँचालो जाने सम्भावना देख्दैछु म । बैरी ठानेर जोसँग लामो लडाइँ लडेर आयौँ उसलाई भुत्ल्याइसक्यौँ । जसले गर्दा अधिकारबाट वञ्चित भयौँ, त्यो व्यवस्था पनि भत्काइसक्यौँ । सङ्घर्षको यस पृष्ठभूमिमा विगतको इतिहास हेरेर सायद तिमी भयभित छौ । विगतको यही पीडा दुखेर म आक्रोशित छु । त्यही इतिहास फेरि दोहरिने हो कि भन्ने चिन्ताले हामी चिन्तित छौँ । हिजोको यो भोगाइ र यातनाबाट डराइरहेका हामी, हिजो खोसिएको खुसी र तिक्तताबाट आतङ्कित हामी डरको त्यही आडमा कसैले कसैलाई विश्वास गर्दैनौँ र भनिरहेका छौँ-अलग राज्य, अलग प्रदेश । देशभन्दा प्रदेशको मायामा अर्पित हामी लिम्बूवानी, मधेसी, मगराती हुनुलाई लड्दैछौँ । आकाशको यो निरवच्छिन्नतालाई अवरुद्ध गर्न कहिले बादल भई ओइरिन्छौँ र हाँक दिन्छौँ, कहिले जातीयताको नारा लगाउँछौँ र सडक तताउँछौँ ।

विनाप्रदेशको देश हुन्छ मैले सुनेकै छैन । विनादेशको प्रदेश हुन्छ-मैले देखेकै छैन । प्रदेश नभएको नक्सामा देश पनि हुँदैन । कहाँ खोज्दै हिँड्नु ? देश नभइदिए प्रदेश पनि हँुँदैन । कुरा त स्वायत्तताको हो । पाउनुपर्ने सम्पूर्ण अधिकारबाट कोही वञ्चित नहोऔँ जाति जाति भएर चिनिने नेपाली हौँ हामी । नेपाली हुँदैमा हामी थारू होइनौँ, हामी मधेसी होइनौँ कसले भन्छ ?

भूमण्डलीकरणको फराकिलो भूमिमा संसार हिँड्दैछ, हामी हिँड्दैछौँ नेपाली भएर जयपृथ्वीबहादुर हिँडेजस्तो, चिनियाँ भएर हृवेनसाङ हिँडेजस्तो, इटालियन भएर कोलम्बस हिँडेजस्तो, बुद्ध भएर सिद्धार्थ गौतम हिँडेजस्तो । भोलि सायद मान्छेबाहेक विश्वमा कोही हुनेछैन, न नेपाली, न भारतीय, न अमेरिकन, न रसियाली । मात्रै चिनियाँ भएर पनि चिनिने छैनौँ, मात्रै अपि|mकाली भएर पनि हामी जानिने छैनौँ । त्यतातिरकै प्रस्थान लाग्छ हाम्रा यात्राहरू । त्यतैतिर उन्मुख छौँ सायद हामी पनि, यो विश्व । अब देश, जाति होइन, जसलाई सिङ्गापुरे, भारतीय वा कोरियाली भन्छौँ । जानेहरू त्यहाँ कहीँ बसिदिन्छन् र त्यहीँका भएर डायस्पोरियन कहलिन्छन् । उनीहरूसँग उनीहरूको देश पनि हुनेछैन, उनीहरूको भाषा र जातीयता पनि हुनेछैन । हामीसँग भएको हाम्रो पुख्र्यौली पुच्छर हराएर हामी मान्छे भइदिएजस्तै हामी मात्रै डायस्पोरियन हुनेछौँ । हामीसँग हाम्रो मान्छे मात्रै रहनेछ ।

मानिस कहाँ पुगिसके छन् । हामीचाहिँ अहिले पनि लिम्बू, शेर्पा, नेवार, थारू, मधिसे हुनुलाई युद्ध छेडी बसेका छौँ ।

राणा खेदेर प्रजातन्त्र ल्याउन सक्छौँ हामी । राजा हठाएर गणतन्त्र ल्याउन पनि सक्छौँ हामी तर हामीभित्रको यो मधेसी, यो लिम्बू, यो नेवार, यो बाहुन, यो थारू भन्ने विभेद हठाउन सकिरहेका छैनौँ Û

हामी त एकौटा अहंको धरहरा भइदिएका छौँ । भीमसेन थापा हुन नसके पनि उसले उभ्याएको धरहरा भएर अग्लो हुनाको दम्भ गर्छौं । अचम्मको कुरा हो हामीले उभ्याएको विभेदमा सीमाङ्कति हुन हामी बर्लिनको पर्खाल भइदिन्छौँ । प्रजातन्त्र आएपछि त्यहाँ बर्लिनको पर्खाल ढल्छ । यहाँ लोकतन्त्र आएपछि बर्लिनको पर्खाल उभिन्छ । हामीभित्रकै हाम्रा यी पर्खालको विरोधमा कहिल्यै मूर्दावाद भनेनौँ, कहिल्यै सडक तताएनौँ, कहिल्यै मसाल बोकेनौँ ।

उज्यालो पनि कति अँध्यारो Û यो अँध्यारोलाई लाटोकोसेराहरू उज्यालो भन्छन् । उज्यालो भएर उज्यालो घाम त यहाँ कहिले पो लाग्यो र ? कि लाटोकोसेरोहरू छन् रात खोज्नेहरू, कि उज्यालोमा अँध्यारो देख्दै नदेख्ने अन्धाहरू छन् । उनीहरू सधैँ भनिरहन्छन्-लाटोकोसेरो होऊ, अन्धो होऊ Û दुवै हुन नसक्ने म खालि उज्यालो खोज्दै छु ।

भाइहरू हो Û आऊ यसको विरोधमा आमरण अनसन गरौँ । म गुरुङ, क्षेत्री, नेवार, मधेसी भएर नेपाली हुँ । नेपाली भएर पनि मान्छे हुँ म । मान्छे भई उसको स्वतन्त्रता जोगाइराख्न आऊ, हामी सप्ताहव्यापी बन्द गरौँ Û

आ-आफ्नो जाति, धर्म, भाषा, ठाउँ बिर्सेर कसैलाई नेपाली हुन भन्दिन । नेपाली नभई प्रदेशी होऊ पनि भन्दिन । पहिले हामी मान्छे हौँ । हराउँदै गरेको यो मान्छेलाई आ-आफैभित्र प्रतिष्ठापन गर्न जाऊ Û एउटा दिवसको आयोजना थालौँ ।

२६ चैत ०६६
साभार :मधुपर्क

Share

Leave A Response »