हिमाली स्वरहरु – ‘निठूरी’ नयाँघरेका नाममा

‘निठूरी’ नयाँघरेका नाममा

admin November 10, 2010 0

निबन्ध

‘निठूरी’ नयाँघरेका नाममा
बसन्तकुमार बस्नेत

इलाम मेरी स्वप्नसुन्दरी विपनीमा तिमीलाई देखेको छैन
मन टेकिएको त उहिल्यै हो दाग लाग्ला भनेर पाउ टेकेका्े छैन
कुरा काट्नेहरु यहाँमात्रै कहाँ छन् र होलान् त्यहाँ पनि
अक्षरको बात लाग्ला भनेर तिमीलाई दुई हरफ पत्र पनि लेखेको छैन ।

नयाँघरे दाजु,
त्यसो त मै पनि कहाँ चारखोलमा छु र । तिमीले माइक्रोड्राइभरको स्टेयरिङ् र ब्रेकसँग तोकिमागेको अठारहजार जाबोको सडक म पनि नाप्दैछु । समयको जेब्राक्रसिङमा उभिएर जिन्दगीको एउटा खड्गो फत्ते गर्न तिमीले हिजोआजहुँदो बस्ने गरेको सहर भोग्दैछु । परदेशिएको मेरो दाजु, तिमीलाई रमेश पौडेलकृत मुक्तकको घुँयेत्रो हिर्काएर यो पत्र आँट्दैछु । तिमीसँगै भएर पनि तिम्रो हुननसकेको यो काठमाण्डौं सहरमा म आज अलिअलि इलाम भएर लेख्दैछु ।
नाम्सालिङ्को मान्चोकबाट सातुसामल गुमुक्र्याएर घर छाडेको दिन तिमीलाई उबेला कस्तो भयो हँ ? मदन पुरस्कार थाप्न जाँदा होस् वा धर्तीको स्वर्ग भनिने अमेरिका जाँदा, तिमी युवराज नयाँघरे भइसक्याथ्यौ । तिम्रो सुवेदीलाई उहीं इलाम झापातिरै छोड्यौ हगि दाजु !
दशकपछि म नमिलेको समीकरण मिलाउन खोज्दैछु तिमीप्रतिको मेरो गणितको । परदेशिन लाग्दा दैलाको सँघारबाट झोला टिपेर कालो रुन्चे अनुहार लाएको युवराज सुवेदी भर्सेज एक हातको ताली बजाएर मदन पुरस्कारको लिगलिगे दौड उछिनेको युवराज नयाँघरेको बीचमा ।
बीचमा छायाँजस्तो देखिने एउटा धर्सो देख्दैछु । यो धर्सो हो कि छायाँ मात्रै ? लाखेस् आज । कहाँ यसै छाड्छु र तिमीलाई ।
घरबाट हिंडेर झापा झ¥यौ । त्यहाँबाट गुडेर काठमान्डौं हानियौ । त्यहाँबाट उडेर अमेरिका । लोक घुमेर आउँदा मदन पुरस्कारको किस्ती तिम्रै हातमा । दाजु, भाग्यमानी रहेछौ । तिमीलाई यो लच्छिनको आशिक कल्ले दियो ? इलामले कि वासिङ्टन डिसीले ? तिमीलाई भेट्नुपूर्व मलाई सँधै यस्तैयस्तै लागिरह्यो ।

त्यो इलाम । तिम्रोहाम्रो जरो । त्यो चारखोल । जहाँको पानी खाएर गाईवस्तु चराउन जाँदा खोलाको चिसो पानीमा पौडेर, इस्कूलका दिनहरुमा खोलोमा बाँकटे हान्न धुले पाठशाला ‘बङ्क गरेर’ कति गयौ होला । भोटो र कट्टु लाउने तिम्रा दिनहरु । दुधिलोको रुखमा चढेर हेर्दा त्यो इलाम, चुरेघाटी, सन्दकपुर, फिक्कल, गोर्खेबजार, सिद्धिथुम्का . . . सायद तिम्रा लागि सपनाको स्वर्ग वा विपनाको आकांक्षा भन्नु यत्ति संसार थियो । सन्दकपुरमा खसेका हिउँ, तिम्रा स्वप्नील सिरकहरु । गुटुमुटु परेथ्यौ कलिलो मनले टाढाबाटै स्पर्श गरेर तिम्रो हिमाललाई ।
मोही पारिसकेर धूप हाल्नेबेला तिम्रा बाले नाङ्गो हातले आगो छुँदा पनि हात नपोलेको देखेर तिमी अचम्ममा पथ्र्यौ । तिम्रा लागि संसारको सम्पूर्ण सात आश्चर्य भन्नु घिउसरीको हातले छुँदा पनि नपोल्ने आगो थियो ।
ओलन तताउँदा निक्लेको कुराउनी खान उबेला तिमी जति हौसिन्थ्यौ दाजु । न्युयोर्कको फाइभस्टार होटलमा इटालियन फुड खाँदा तिमी त्यत्ति नै पलुकित भयौ ? धरोधमै नलुकाइ भन न ।
पर्मेजुङ्मा भकुण्डो खेल्न गएको बेला बारीका कान्ला उफ्रेर हिंड्दा तिमीलाई पासाङ्दाजुले धारेहात लाएर सरापेथ्यो । तिमी अटेरी भएरै कुदेथ्यौ । आफ्नो छोरोलार्ई काठमाण्डौंमा एउटा बिनाकसुरको बन्दी बनाएर राख्याछौ तिमीले । घरको गेटबाट ऊ बाहिर निक्लियो भने बुझे हुन्छ ऊ स्कूलको गेटभित्र छ । स्कुल घर, घर स्कुल । ऊ सिमेन्टको पर्खालभित्र बन्दी छ । मानौ,ं ऊबाट यो उत्तरआधुनिक सिटीकल्चरमा जन्मिनु अक्षम्य अपराध भएको छ ।
हिजो पासाङ्दाजुको कान्लामा उन्मुक्त उफ्रिने तिमी आज कलंकीको कारागारजस्तो घरमा कोचिएर स्वतन्त्रताको निबन्ध लेख्छौ र मदन पुरस्कार थाप्छौ । तिम्रो दुईलाखे पुरस्कारका अक्षरभन्दा चारखोलका तिम्रा नलेखिएका र लेखिन बाँकी साहित्य कति होलान, जसलाई बक्सिस दिन गोडा दुएकलाखे पुरस्कारको योग्यता पुग्दैन । लेखिराख दाजु बडसँगले निबन्धका ठेली । मखुण्डाको मनले हानिराख काठमाण्डौंलाई कोर्रा । निलडाम बस्नेगरी चुट । सुकाइदेऊ संवेदनाका स्वरहरुलाई ।

लेखेऊ तिमीले खुब ।

उता लेख्नुपर्ने सिंगै इलाम बाँकी छ । त्यसको फगत तीनपेज ह्याङ्ओभर लेखेर तिमीलाई पुग्छ ? रमेश पौडेलले लेखेको भनेको माथिको मुक्तक त कैलेकाहीं तिमीले नै पो लेख्या हो कि जस्तो शंका हालेको छु यो चित्तमा ।

दाजु, बिबिसी रेडियोले तिमीलाई धुइँधुइँती खोजेका दिन तिमी सारो ‘बिजी’ थियौ । नेपालीसेवालाई नेपाल टेलिकमले नेपालीमै दिनभर जवाफ दियो, तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ केहीबेरपछि…। पृथ्वीलोकको सबैभन्दा ठूलो रेडियोले तिम्रो टाइम नपाएका दिन मलाई लाग्यो, तिमी त सबैका भएछौ । संसारका भएछौ तिमी ।

तिमीले त्यही पुरस्कार झारेको दिन थियो त्यो । खुब रमाएथ्यौ होला तिमी त हगि । तर याद राखेस् मुला दाजु, तिमी त कसैका पनि भएनछौ ।

काठमाण्डौंमा तिमीलाई झापाको भन्दार’छन् । झापामा इलामको । इलाममा तिम्रो नाम सबैलाई थाहा छ । तर तिमी बर्नेको उकालो हँदै गाउँ लाग,कसैले चिन्दैनन् ।

सारा संसारको आफ्नो तिमी । कठै मेरा दाजु,। तिमी त आफ्नै अाँगनको भएनछौ ।

२०६७ भदौ २७ गते नेपाल प्रज्ञाप्रतिष्ठानको आँगनमा तिमीलाई भेट्नुअघि मलाई यस्तै लागिरह्यो । तिमीले टाढैबाट इलामलाइ माया गरेको देख्दा माथिको मुक्तक याद आइरह्यो । आफ््नो अभिभावक, प्रेमिका, तिम्रो सर्वस्व भन्नु त्यो माइखोलोमाथिको भूगोललाई नछोएरै तिमीले आत्मिक माया गरेको देख्दा लाग्यो । यो चोखो माया हो । तर सा¥है सा¥है सा¥है अपुरो माया । अधुरो माया ।
दुई

तर होइन रहेछ दाजु,
फुङ्सेन पत्रिकाको दोस्रो अंकको लागि बसिबियाँलो गर्दा तिमी मलाई सा¥है प्यारो, उत्तिकै आत्मीय उत्तिकै न्यानो लागिरह्यौ । यतिका हिउँदहरुमा काठमाण्डौंको काष्टी काट्दा पनि तिमीलाई यसले चिस्याउन सकेको रहेनछ । तिमीलाई त बरु हिउँको कार्पेटमा आँसुको फूलले अझै पनि अन्तरमा स्पर्श गर्दोरहेछ । कस्तो हौ दाजु तिमी त । तिम्रै घरगाउँमास्तिरको विष्णु निष्ठूरीको उपनाम काटेर झण्डै मैले तिम्रो नामपछि झुण्ड्याइदिइसकेको– युवराज निष्ठूरी ।
तिमी बोल्दैगयौ । मैले मोबाइल झिकेर आवाज रेकर्ड गरें । तिमी अलिकति टोड्के झरनाको आँसु रोयौ । अलिकति माइखोला भएर बग्यौ । पर्मेजुङको उकालोमा स्मृतिका पाइलाहरु हिँड्यौ । एकैछिन नयाँबजार लामागाउँको सियाँलमा खुइ्यय काढ्यौ मनले । गोदक हुँदै झापा झरेको सम्झेर तिमी अतीत भक्कानियौ । चुरेघाँटीबाट ओलनको ढुङ्ग्रो र अम्लिसाको म¥याङ म¥याङ म¥याङमा हृदयको सरगम भएर बज्यौ । दिमाग त अरुको जस्तै लाग्छ दाजु तिम्रो । तिमीले त तस्वीर खिचेझैं मस्तिष्कको रिलमा कसरी सबै कैद गर्न सक्यौ ? शब्दहरुसित क्यामेरा पनि ल्याएका थियौ तिमीले ?
त्यति सानो मान्छे तिमी । ऊ बेला कसरी नाङ्गो आँखाले आकाशको जून र सन्दकपुरको गुराँस एकैचोटि मस्किएको अनुभव ग¥यौ ? यो दशकको ठिटोले इन्टरनेटमा यूरोपकी केटीसित भर्चुअल च्याट गर्दा आज भन्छौ होला , ‘मोरो, कुइरेनीसित गफगफमै डेटिङ् जाँदो रहेछ ।’ तिमीले पनि त कुहिरोको घुम्टो हालेर लजाउँदै बस्ने तिम्री इस्कुले मायालुलाई लाइन मारेको क्या त उहिल्यै । अहिले सम्झ्यौ ? दाजु बड साखुल्ले पार्छौ । बिर्सेजस्तो गर्छौ तिमी ।
अँ भन्दैथें, तिमी त अहिले पनि यो सहरका यतिका मान्छेका भीडमा परैबाट छुट्टिदा रहेछौ । तिमी अझैसम्म पनि छातीभरि गाउँ बाँचिरहेका रै’छौ । माफ गर दाजु, पाप सोचेछु व्यर्थै । इलाम फर्क दाजु । पाराङकाइँलाकोबाट एक बोत्तल रक्सी राखेर ढोग्छु तिमीलाई । तिम्रो मित घुम ओडेर अहिले पनि गाईवस्तु चराइरहेको छ लेकाली हुस्सुमा । हिजोआज त मोबाइलमा रेडियो सुन्छ ऊ । उहिले टा«न्जिस्टर झण्डै फुटालेर ऊसितै रेडियोका मान्छे हेर्नखोज्दा तिम्रा बाको चड्कनको हेभीमेटल संगीत बिस्र्यौ दाजु तिम्ले ?

पर्यटनको केन्द्र भएको छ इलाम अहिले । चिया बेच्छ दाजु चिया । ऊ टी टुरिज्म गर्छ । हत्केलामा ग्रामीण सत्कारको थाली बोकेर घाम, कुहिरो, हिमाल सबैसबै बेच्न थालेका छन् इलामेलीहरुले । तिमीले उकालोमा बा¥हगोलाइको उकालो जीप ठेल्दै हिलोबाट निकालेको राजमार्ग अहिले पक्की मेची राजमार्ग भइसकेको छ । तिमीलाई अचम्म लाग्दैन ? प्रत्येक गाउँमा अहिले गाडी पुग्न थालेको छ ।
“इलामको ह्याङ्ओभर ” तीन पृष्ठमा लेखिसक्ने तिमी । हिंड दाजु, अहिले कुटुरो कस । के पश्चिम पहाडको बारे उपन्यास लेख्ने कुरा सोच्छौ । तिमीले पाँचसय पृष्ठमा पनि लेखिनसकिने भइसकेको छ इलाम ।
यत्तिकै कपाल फुलायौ दाजु तिमीले यो कृत्रिम सहरमा । तिमी सहर पसेर बुढा भयौ । हाम्रो इलाम चाहिं झन् झन् तन्नेरी हँदैछ । सबले गएर कुल्चिन्छन् त्यहाँको कुमारी माटोलाई । धन्य भएको महसुस गर्छन् जीवनमा एकपटक । तै पनि कस्तो , त्यो त अझै हरियो हँदै जाँदैछ । त्यो मस्त जवान हुँदैछ । सदाबहार भएको छ । तिमीले त्यै हरियोलाई प्रेम गर्न सिक्यौ । त्यसैले आज यहाँ उभिन पाएका छौ ।

इलामलाई भ¥याङ् बनाएर स्वर्ग उकालिनेहरुले बुझेनन्— इलाम भ¥याङ् थिएन बरु आफैंमा स्वर्ग थियो । सिँढी थिएन आफैंमा गन्तव्य थियो ।
इलाम हाम्रो मूल खाँबो । फर्कौं दाजु एकपल्ट उतै । कस्ताकस्ता सिद्धहस्त लेखकले अनेकन् शिल्प जडेर लेख्दा पनि कहिल्यै लेखिनसकिएको, लेखिन बाँकी महाआख्यान हो ।
भर्खर त एक बारी इलाम मात्र लेखिसक्यौ दाजु । यति उमेर कटाइसक्यौ । इलामलाई छेउकुनो तिम्रा अक्षरले जोत्नै बाँकी छ । राँटा सम्याउनै बाँकी छ । यत्तिकै जुनी कटाउँछौ र दाजु !
अमेरिका र यूरोपको कइरेले हाम्रो कुइरो लगेर सेमिनारको प्रतिवेदनमा बेच्छ । ऊ ताली र पैसोले मालामाल हुन्छ । तिमी दाजु यसै थचक्क बसिरहेछौ । कुइनोले हातमा थाप्लो टेकाएर यसै के अनाम पहाडमा कावा खाँदै फनफनी घुमिरहन्छौ ?
विकासले हामीलाई कहाँ पु¥याइसक्यो । ओलन पिएर ज्यान बनाउने, मोही खाएर तिर्खा मेट्ने, घिउ खारेर हर्पेमा हाल्ने तिम्री आमा त हुन् । अहिले त ढुङ्ग्राबाट सिधै डेरी हुँदै त्यो दुग्ध विकास संस्थान पुग्छ । तिमीले केटकेटीमा देखेका चोरीहरु माइमझुवातिर चर्दै होलान् । गाडी हुइँकिएर आउँछ र एकै ट्रिपमा माल उठाएर लान्छ । यो प्रदुषित धुलो के तान्छौ न्यास्रो मनले । इलामको त हावा पनि ‘वस्तु’ भएको छ । त्यो बिक्री हुन्छ । तर तिमी हिँड मात्रै दाजु । तिमीलाई निःशुल्क मिल्नेछ ।
परदेशी छोरो घर फर्किदा कुन आमाको मन रमाउदैन र !

पर्यटन वर्ष २०११ आउँदैछ । तर तिमीलाई गाउँ फर्किन कुनै आइतबार चाहिन्न । हिंड दाजु यसैपाला जाउँ, एकपटक इलाम नपुगी स्वर्ग देखिदैन ।
दाजु, बरु जीवनदेखि निराश तिम्रा कोही दौंतरी छन् भने एकपटक इलाम पठाइदेऊ, इलामले जीवनलाई सृजनशील कर्मशील ढंगले कसरी प्रतिक्षण बाँच्नुपर्छ उपाय सुझाएर फर्काउँछ । त्यस्ता टिप्स वेबसाइटमा खोजेर कहाँ पाइन्छ ?

पुरस्कार र सम्मानका औपचारिक बधाइ, माला, दोसल्लाहरु फुकालेर इलाम हिंड गाउँले दाजु । तिमी मनपरेको ‘आफ्नो’ लाईृ रमेशलेझैं किन यति सुदुरबस्तीबाट माया गर्छौ ? किन नोस्टाल्जिक हुन्छौ ? किन भक्कानिन्छौ ?
जे होस् तिमीलाइ इलाममा स्वागत छ । अन्तुको सूर्योदय तिमीलाई । माङ्मालुङ र गजुरमुखीको भाकल तिमीलाई । माइपोखरी र मंगलबारेको गुराँस तिमीलाई । जीवनको हरियाली तिमीलाई । इलामेली माटो, मन र मुस्कान तिमीलाई ।
सबैसबै तिमीलाई । परिचित भएरै पनि बस्तीमा अपरिचित दौंतरीलाई । परदेशिएको छोरालाई ।

तिम्रो गाउँले भाइ
कीर्तिपुर ,२०६७ ०६ ०६
basantakbanet @yahoo.com

jrdf21@yahoo & jagritigramin@gmail

Share

Leave A Response »