हिमाली स्वरहरु – विपद् व्यवस्थापनका लागि एकीकृत रूपमा अघि बढ्ने उद्घोष

विपद् व्यवस्थापनका लागि एकीकृत रूपमा अघि बढ्ने उद्घोष

admin December 29, 2010 0

विपद् व्यवस्थापनका लागि एकीकृत रूपमा अघि बढ्ने उद्घोष
मिति २०६७।९।१४
प्रकोपको उच्च जोखिममा रहेको नेपालले वर्षेनी सामना गर्नु परिरहेको जनधनको क्षति न्यून गरी सुरक्षित नेपालको निर्माण गर्न समयसापेक्ष नीति, नियम र प्रभावकारी संस्थागत संरचनाको स्थापना गरी अघि बढ्नु पर्नेमा राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी प्राकृतिक स्रोत तथा साधन संसदीय समितिका सभासद्ले जोड दिएका छन् । प्राकृतिक स्रोत तथा साधन समितिको पहलमा अक्सफाम नेपाल र इको नेपालको प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा आयोजना गरिएको विपद् व्यवस्थापनको लागि कानुनी व्यवस्था तथा संस्थागत संरचना स्थापनार्थ माननीय सभासद्बीच गोलमेच छलफल कार्यक्रममा यस संवेदनशील विषयमा हामी सबै एकीकृत भएर अगाडि बढ्नु पर्नेमा सहमति भएको छ ।
विषयवस्तुमाथि प्रकाश पार्दै इको–नेपालका अध्यक्ष रामचन्द्र न्यौपानेले प्रस्तावित विपद् व्यवस्थापन ऐनलाई सरकारी निकायबाट ढिलासुस्ती नगरीकन अगाडी बढाउन माननीय सभासद्हरुले महत्वपूर्ण भूमिका खेल्नसक्ने र खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा डिपिनेट नेपालका अध्यक्ष डाक्टर मीनबहादुर पौडेल क्षेत्रीले विपद् व्यवस्थापन ऐनको आवश्यकता माथि जोड दिँदै यसकार्यमा जनप्रतिनिधिहरुको उल्लेखनीय भूमिका रहने स्पष्ट पार्नुभयो । दलगत रूपमा पनि एक महत्वपूर्ण सवालको रुपमा यस मुद्दालाई अगाडि बढाउनुका साथै अन्तर संसदीय सञ्जालको निर्माणगरी यस मानवीय सवाललाई अगाडि बढाउन पहल गर्नुपर्ने कार्यक्रममा उपस्थित एमालेका पोलिटब्यूरो सदस्य माननीय गंगालाल तुलाधरले बताउनु भयो । कार्यक्रमको समेत सभापतित्व गर्नु भएका प्राकृतिक स्रोत तथा साधन समितिका सभापति माननीय शान्ता चौधरीले मानवीय तथा प्राकृतिक प्रकोपका कारण उत्पन्न यस विपद्को व्यवस्थापनका लागि आवश्यक पहल गर्न समिति तत्पर रहेको बताउनुभयो ।
दक्षिण एसियाली मुलुकमा विपद् व्यवस्थापनसम्बन्धी भएका अभ्यास र संस्थागत संरचनाको विषयमा प्रकाश पार्दै नेपालमा दीर्घकालीन विपद् व्यवस्थापनका लागि उपयुक्त नीति तथा नियम, संस्थागत संरचनाको विकास र क्षमता अभिवृद्धिमा तत्कालै नलागे हाम्रो अवस्था २० वर्ष पहिलेकै रहने उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागी सभासद्हरू र विशेषज्ञहरूको समेत आग्रहमा विपद् व्यवस्थापनका सवाललाई समितिले निकट भविष्यमै वृहद् कार्यक्रको आयोजना गरी विस्तृत छलफल चलाउने निर्णय पनि गरेको जनाइएको छ ।


Share

Leave A Response »