हिमाली स्वरहरु – बानाको विज्ञप्ति

बानाको विज्ञप्ति

admin February 2, 2011 0

बाल्टिमोर, अमेरिका, फेब्रुअरी १, २०११ । बाल्टिमोर एशोसियनस अफ नेपलिज इन अमेरिका बानाको साधारण सभा आगामी मार्च २७ तारिख बाल्टिमोरमा हुने भएको छ । यसै साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । बाना कार्य समितिको आइतवार यहाँ सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । यसका लागि बानाले विद्यमान विधान बमोजिम आनन्दकृष्ण घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति पनि गठन गरी निर्वाचन प्रक्रिया अघि बढाउन समितिलाई जिम्मेवारी सुम्पिएको छ । समितिमा डाक्टर भरत रावल, पदम पुन, शिव विष्ट र प्रशान्त श्रेष्ठ सदस्य रहेका छन् । यसैबीच संयोजक घिमिरेले सदस्यमध्येबाट विष्टलाई निर्वाचन समितिको सचिवको रुपमा जिम्मेवारी सुम्पिएका छन् । समितिले आवश्यकता बमोजिम दुई सदस्य थप गर्न सक्नेछ ।

बानाकी अध्यक्ष रबिना थापाको सभापतित्वमा सम्पन्न कार्य समिति र निर्वाचन समितिका पदाधिकारीहरुको बीचको संयुक्त बैठकमा संस्थाको विद्यमान विधान अनुुसार प्रत्येक दुई वर्षको मार्च अन्तिममा पुरानो कार्य समितिको कार्यकाल समाप्त हुने उल्लेख भएकोले सोही अनुसार मार्च महिनाको अन्तिम आइतवार नयाँ नेतृत्व चयनका लागि मिति निर्धारण गरिएको संस्थाका महासचिव गौतम दाहालद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा नेपाल पर्यटन वर्ष सम्बन्धी कार्यक्रम गर्ने बारेमा पनि छलफल भएको थियो । बैठकमा बानाका उपाध्यक्ष रामप्रकाश भण्डारी,महासचिव गौतम दाहाल, कोषाध्यक्ष राजन केसी,सूचना निर्देशक चेतन पौड्याल र कार्यकारी सदस्य विनोद उप्रेतीको सहभागिता थियो । यसैगरी निर्वाचन समितिका पाँचै पदाधिकारीहरु बैठकमा सहभागी हुनुहुन्थ्यो ।

निर्वाचन समिति गठन गरी प्रक्रिया आरम्भ गरिसकेकोले आफ्ना सम्पूर्ण साधारण सदस्यहरुलाई विधान अनुुसार आफ्नो सदस्यता नवीकरण गर्न र नयाँ सदस्यहरुलाई संस्थाका पदाधिकारीहरुसँग सम्पर्क गरी साधारण सदस्यता लिई बानाका गतिविधिलाई सहयोग गर्दै नयाँ नेतृत्व चयनमा आफूलाई प्रत्यक्ष सहभागी गराउन पनि बाना कार्य समितिले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

Share

Leave A Response »