हिमाली स्वरहरु – एएनए सम्मेलनः विस्तारित भेला तथा पत्रकार सम्मेलन सम्पन्न

एएनए सम्मेलनः विस्तारित भेला तथा पत्रकार सम्मेलन सम्पन्न

admin May 31, 2011 0

एएनए सम्मेलनः विस्तारित भेला तथा पत्रकार सम्मेलन सम्पन्न
वाशिङ्गटन डि.सी. । एसोसिएसन अफ नेपलिज् इन अमेरिकाज् (एएनए) को २९ औं सम्मेलन आयोजनाको पूर्व तयारी गर्ने सिलसिलामा सोमबार आयोजना स्थल मेरियट कन्फरेन्स सेन्टर स्यान्टिलीमा विस्तारित सामुहिक भेला तथा पत्रकार सम्मेलन आयोजना गरियो ।
सो अवसरमा सम्मेलन आयोजक समितिका संयोजकहरुले आआफ्नो विभागमा भएका प्रगति तथा समस्याहरुको विबरण प्रस्तुत गर्नु भएको थियो भने नेपाली समुदायका विभिन्न क्षेत्र र तप्काका व्यक्तित्वहरु तथा पत्रकारहरुले आफ्ना चासोका विषयहरुमा प्रश्न गर्नु भएको थियो ।
टाउन हल बैठकको रुपमा आयोजित उक्त कार्यक्रममा संस्कृति तथा मनोरञ्जन विभागका संयोजक सरोज खनालले एएन्ँए ट्यालेण्ट शोे यस सम्मेलनको विषेश आकर्षण रहेको र अहिलेसम्म यस शोमा भाग लिनको लागि विभिन्न स्टेटहरुबाट दुई दर्जन जति टीमले नाम दर्ता गराएको जानकारी दिनु भयो । यस्तै गरी नेपालका विभिन्न प्रसिद्ध कलाकारहरुबाट विशेष सांस्कृतिक कार्यक्रम हुन लागेको र तीनै दिन सम्म सांगितिक मनोरंजन डिजे प्रस्तुत हुने कुरा पनि पक्का भएको उहांले बताउनु भयो ।
एएनएका अध्यक्ष सिमन ढुंगानाले नेपालीहरुको परम्पराकै रुपमा हुन लागेको यस सम्मेलनलाई ब्यवस्थित र विवादरहित बनाउन गठन गरिएको मेम्बरशिप भेरिफिकेसन कमिटि र निर्वाचन कमिटीले निश्पक्ष रुपमा काम गरिरहेको कुरा बताउदै यो संस्थाप्रति धेरै नेपालीहरुको आकर्षण र सहभागिता बढ्न थालेकोले विधानमै परिमार्जन गरी संगठन विस्तारमा जोड दिइने कुरा प्रष्ट पार्नुभयो ।
सम्मेलनका संयोजक हेमन्त श्रेष्ठले सवै उपस्थितहरुलाई स्वागत गर्दै यस पटक हरेक संचार माध्यमहरुलाई केही प्रवेश पास बाहेक अरु कसैलाई पनि निशुल्क प्रवेश नदिइने र कसैको पनि कोठा, खाना वा हवाई खर्च नबेहोरिने, आम्दानीका स्रोतहरुलाई सकेसम्म बढाउने र पूर्णतः आर्थिक मितब्ययिता अपनाएर एएनएको विग्रिएको आर्थिक छविलाई उचा गराउने प्रतिवद्धता जाहेर गर्नु भयो ।
आर्थिक संयोजक लक्ष्मण श्रेष्ठले विगतका सम्मेलनहरुबाट अनुभव लिएर आर्थिक अनुशासनलाई कडाइका साथ लागू गर्न आफू कटिवद्ध रहेको बताउंदै हालसम्म करीव १ यस ५० वटा होटेल कोठाहरु बुकिङ भइसकेको र २५० जनाले अनलाई रजिष्ट्रेसन गरेको जानकारी दिनु भयो । आफ्नो लक्ष्य करीव १२ सय ५० जनाको रजिष्टेसन गराउने र ३ सय कोठाहरु बुकिङ गराउने रहेको जानकारी दिनु भयो । यस्तै उद्यम—ब्यवसाय सम्बन्ध विस्तार विभागका संयोजक राजेश श्रेष्ठले यस सम्मेलनको माध्यमबाट नेपालीहरुले आआफ्नो व्यापार व्यवसायलाई एकअर्कामा परिचित गराउने भएकोले सम्मेलनका विभिन्न कार्यक्रमहरुलाई स्पोन्सर गर्न सवैलाई अनुरोध गर्नु भयो ।
यस्तै खेलकूद संयोजक चन्द्र लामाले यस पटक विशेष आकर्षणको रुपमा गल्फ खेल पनि हुन गालेको, फूटबल (सकर), भविबल, बास्केटबल लगायतका खेलकूदहरुमा गरी जम्मा ६ सयभन्दा बढी खेलाडीहरु सहभागी हुन लागेको जानकारी दिनु भयो ।
सो अवसरमा रजिष्ट्रेसन तथा स्वयंसेवक विभागका संयोजक विजय थापाले एएनएको वेभसाइटमा गएर चांडोभन्दा चांडो रजिष्ट्रेसन गरी आआफ्नो स्थान सुरक्षित गर्न सवैलाई आग्रह गर्नु भयो भने समारोह संयोजक रविना थापाले आफूले उद्घाटन सत्रलाई विशेष नयां ढंगले नेपाली कला, संस्कृति, रितिरिवाज तथा भेष भूषालाई झल्काएर झांकी सहित गरिने जानकारी दिनु भयो । सम्मेलनका विभिन्न फोरमहरुको संयोजन गरिरहनु भएकी विष्णु थापाले मिठो भेटघाट, ट्यालेण्ट शो, सांस्कृतिक कार्यक्रम, फेशन शो, महिला कवि गोष्ठी लगायतका विभिन्न कार्यक्रमहरु हुन लागेको जानकारी दिनु भयो ।
सम्मेलनका संचार संयोजक गुणराज लुइटेलले एएनएको इतिहासमा पहिलो पटक संचारसंग सम्बन्धित फोरम ‘मिडिया च्याट एण्ड मिडिया ट्र्याक‘ संचालन गर्न लागिएको र सम्मेलन अवधिभरि सवै संचार माध्यमहरुलाई निर्वाध रुपमा सूचना प्रवाह गर्नको लागि संयन्त्र तयार गरिएको जानकारी दिनु भयो ।
सो भेलामा डा. श्याम कार्की, गोविन्द गिरी प्रेरणा, लेखनाथ भण्डारी, रामहरि सुवेदी, कविन्द्र सिटौला, सीता पाण्डे, पारस कार्की, बसन्त श्रेष्ठ, सिवानी कार्की लगायतले आआफ्ना विचार, जिज्ञासा र सुझावहरु राख्नु भएको थियो ।

Share

Leave A Response »