हिमाली स्वरहरु – मुद्दा फिर्ता बारे ध्यानाकार्षण ।

मुद्दा फिर्ता बारे ध्यानाकार्षण ।

admin September 3, 2011 0

सम्माननीय प्रधानमन्त्री डा. बावुराम भट्टराई
सिंहदरवार, काठमाण्डौं मितिः २०६८।५।१६

विषयः मुद्दा फिर्ता बारे ध्यानाकार्षण ।

प्रधानमन्त्रीज्यू,
सर्वप्रथम तपाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सर्वोच्च कार्यकारी प्रधानमन्त्री पदमा निर्वाचित हुुनुभएकोमा हामी मानवअधिकारकर्मीहरु तपाईको कार्यकालको पुर्ण सफलताको कामना गर्दै हार्दिक बधाई ज्ञापन गर्दछौ । विशेषगरी तपाई स्वयं पनि नेपाल मानवअधिकार संगठनको संस्थापक एवम् केन्द्रीय सदस्य समेत भैसक्नु भएको व्यक्ति प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हुँदा हामीले तपाईको नेतृत्वको सरकारलाई विशेष महत्वको रुपमा लिएका छौं ।
यसै सन्र्दभमा तपाई सम्बद्ध राजनैतिक दल एनेकपा (माओवादी) र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका विचमा सम्पन्न चार वुँदे सहमतीको बँुदा नं २ मा उल्लेखित “…..माओवादी युद्धकाल, मधेस आन्दोलन, थरुहट आन्दोलन, दलित आन्दोलन, पिछडा वर्ग आन्दोलन र अन्य समुदायका न्यायोचित मागका लागि भएका आन्दोलनका दौरान लगाइएका मुद्दाहरुसमेत खारेज गर्ने र माफी दिने प्रक्रिया थालिने छ” भन्ने समझदारी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यथार्तमा सशस्त्र द्वन्द्वकाल र मधेश, जनजाति आन्दोलन लगायत विभिन्न आन्दोलनहरुको सन्दर्भमा घटेका गम्भीर अपराध तथा मानवअधिकार एवं मानवीय कानूनको उल्लघंन गर्ने कसुरमा संलग्न व्यक्तिहरुको मुद्दा फिर्ता लिने र अदालतबाट दण्डित भएका व्यक्तिहरुलाई कानून सम्मत छानविन विना नै आममाफी दिने जस्ता कार्यले मुलुकमा विद्यमान दण्डहीनता अझ बढ्नेछ भने यसले संस्थागत मान्यता पनि पाउनेछ । साथै यस्ता कार्यले विधिको शासन र मानवअधिकारको आधारभूत मूल्य तथा मान्यताको अवमुल्यन पनि हुन जाने स्पष्ट छ ।
विशेषगरी सशस्त्र द्वन्द्वकालका पीडितहरुलाई न्याय सुनिश्चित गर्न र पीडिकहरुलाई कानूनको दायरामा ल्याई कारवाई प्रक्रिया अगाडी बढाउन विस्तृत शान्ति सम्झौताले निर्दिष्ट गरेको चिर प्रतिक्षित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोग, जस्ता आयोगहरु तत्काल गठन गरी संक्रमणकालिन न्यायलाई सम्बोधन गर्ने प्रक्रिया प्रारम्भ गर्न पनि हामी जोडदार आग्रह गर्दछौं ।
साथै नेपाल पक्ष भएको विभिन्न मानवअधिकार सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धीहरु, अभिसन्धीहरु र मानवीय कानून समेतको विपरीत हुने गरी गम्भिर अपराधमा संलग्न व्यक्तिहरुको मुद्दा फिर्ता लिने र आम माफी दिने जस्ता कार्य कमसेकम, आम नेपाली जनताको भरोसा निहित तपाईको नेतृत्वमा गठन भएको सरकारले गर्दैन र गर्ने छैन भन्ने कुरामा समेत हाम्रो दृढ विश्वास छ ।

मानवअधिकारकर्मीहरु
दमननाथ ढुङ्गाना पद्यमरत्न तुलाधर डा.विरेन्द्र मिश्र
कपिल श्रेष्ठ सुशील प्याकुरेल चरण प्रसाई
डा. गोपालकृष्ण सिवाकोटी प्रदिप पोखरेल बाबुराम गिरी
डा. नेत्र तिमिल्सेना दिनेश त्रिपाठी अमुदा श्रेष्ठ
गणेश वि.क. शर्मिला काकी शोभा गौतम
शोभाकर बुढाथोकी भवानी खरेल वीरेन्द्र थपलिया
मन्दीरा शर्मा बासु देवकोटा शशी कुमार उपाध्याय
चन्द्र अधिकारी शैलजा शर्मा सरिता गौतम
आशिकराम कार्की गोपाल लम्साल कृष्ण गौतम
गोविन्द शर्मा बन्दी
लगाएत ४० भन्दा बढी


Share

Leave A Response »