हिमाली स्वरहरु – प्रेश विज्ञप्ती-नेपाल अमेरिका पत्रकार संघ (नेजा)

प्रेश विज्ञप्ती-नेपाल अमेरिका पत्रकार संघ (नेजा)

admin January 1, 2012 0

प्रेश विज्ञप्ती
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को हालै सम्पन्न कार्यसमितिको बैठकबाट ” नेजा बद्रीकुल मेमोरियल ” उत्कृष्ठ पत्रकारिता पुरस्कारका लागि आवेदन गर्न आबश्यक मापदण्ड निर्धारण गरी सम्बन्धित क्षेत्रमा सूचना सार्बजनिक गर्ने निर्णय गरेको छ । नेजाद्धारा गत बर्ष स्थापना गरिएको उक्त पुरस्कार नेपालमा कार्यरत संचारकर्मी वा संचारसंस्थालाई प्रदान गरिने छ । प्रत्येक दुई बर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशी एकलाख एघार हजार एक सय एघार रुपियाँ एघार पैसा रहेको छ । नेपालका ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिबृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संचारकर्मी वा संचारसंस्थालाई यो पुरस्कार प्रदान गरिने छ । नेपालमा क्षेत्रीय, स्थानीय भाषी र महिलाको समेत प्रतिनिधित्व हुने गरि समावेसी ढंगको छनौट समिति तुरुन्तै गठन गरिने छ । समितिमा नेपाल पत्रकार महासंघको समेत संलग्नता हुने गरि गठित छनौट समितिको सिफारिस अनुरुप पठाइएका तीन जनाको आवेदन मध्येबाट नेजा कार्यसमितिले एक जनालाई पुरस्कृत गर्ने छ ।

पुरस्कारका लागि निम्नानुसार मापदण्ड निर्धारण गरिएको छ ।

१. आवेदक नेपाली वा नेपालका क्षेत्रीय अथवा स्थानीय भाषामा विगत दुईबर्षदेखि पत्रकारिता गर्दै आएका ब्यक्ति वा संचारसंस्था हुनुपर्ने छ ।

२. आवेदक ब्यक्ति भए आफू काम गर्ने संस्थाको सीफारिस लिनु पर्ने छ । उक्त संस्था नेपालमा विधिवत दर्ता भएको हुनुपर्ने छ । संस्था स्वयम आवेदक भए पनि उक्त संस्था दर्ता वा नविकरण भएको हुनुपर्ने छ । आवेदक स्वतन्त्र पत्रकार भए सूचना विभागद्धारा प्रदान गरिएको स्वतन्त्र पत्रकारिता गर्न दिईएको अनुमति सहितको परिचय पत्रको प्रति आवेदनमा संलग्न गर्नु पर्ने छ ।

३.छनोटमा परेका पुरस्कृत व्यक्ति वा संस्थाको नाम नेजाको आगामी मे महिनामा न्युयोर्क शहरमा हुने अधिबेशनमा घोषणा गरिने छ ।

४. पुरस्कृत व्यक्ति वा संस्थालाई नेजाद्धारा तिनको संबन्धित क्षेत्रमा गई एक कार्यक्रमको आयोजना गरेर पुरस्कार प्रदान गरिने छ ।

५.आवेदकले व्यक्तिको हकमा विगत एक बर्षयता आफूले प्रकाशन वा प्रसारण गरेका सामग्रीको तीनप्रति र आफ्नो रचना वा कार्यक्रमबाट ग्रामीण विकासमा पर्ने प्रभावबारे पाँच सय शब्दमा नबढ्ने गरी गरिएको एक समीक्षा संलग्न गर्नु पर्ने छ । संस्थाको हकमा आफ्नो दर्ता प्रमाण पत्र-नविकृत) संलग्न गर्नु पर्ने छ ।

६. यो पुरस्कार सम्बन्धि कुनै विवाद भए त्यसको छिनोफानो गर्ने अधिकार नेजा कार्यसमितिमा सुरक्षित छ । योग्यता नपुगेको व्यक्ति वा संस्थाले कुनै राजनीतिक दल वा व्यक्ति विशेषको सीफारिसका आधारमा पुरस्कार पाउने छैन ।

७. आवेदन आगामी मार्च महिनाभित्र निम्न ठेगानामा वा नेजाले तोकेको ठेगानामा आइपुग्नु पर्ने छ । ढिला गरी प्राप्त भएका आवेदन प्रतियोगितामा समाबेश गर्न नेजा बाध्य हुने छैन ।

आबेदनका लागि ठेगाना

मिडिया फाउण्डेशन नेपाल

शान्तिमार्ग भाटभटेनी ४०

पोष्ट बक्स नं ९८२४ काठमाडौ नेपाल ।

 

Share

Leave A Response »