हिमाली स्वरहरु – नेपाल अमेरिका पत्रकार संघ अमेरिका प्रेस वक्तब्य

नेपाल अमेरिका पत्रकार संघ अमेरिका प्रेस वक्तब्य

admin May 22, 2012 0

नेपाल अमेरिका पत्रकार संघ
अमेरिका

प्रेस वक्तब्य

मुलुकमा विभिन्न राजनितिक परिवर्तन भइसकेपनि नेपाली पत्रकारिता जगत अझै चौतर्फी असुरक्षाका बीच रहदै आएको छ । आर्थिक , सामाजिक र भौतिक रुपमा समेत असुरक्षित बन्दै आइरहेको नेपाली पत्रकारिता र नेपाली पत्रकारहरुमाथि बारम्बार भइरहेको आक्रमण निकै दुखदयि पक्ष बनेको छ । यसको ज्वलन्त उदाहरण हो पछिल्लो चरणमा पत्रकारमाथि श्रृङखलाबद्ध रुपमा हुदै आएको आक्रमण । आन्दोलन र बन्दको नाममा केही दिन यता काठमाडौं उपत्यका र बाहिर कार्यरत संचारकर्मीमाथिको आक्रमणका घटनाहरुले नेपाल अमेरिका पत्रकार संघ ( नेजा) को गम्भिर ध्यानाकर्षण भएको छ । अधिकारको लागि भन्दै गरिएका आन्दोलनका क्रममा पत्रकारको अधिकारमाथि गम्भिर आघात पुग्नेगरी भएका यस्ता आक्रमणका घटनाप्रति (नेजा) खेद व्यक्त गर्दै यस्ता घटना भविष्यमा नदोहोराउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न समेत सबै पक्ष समक्ष आग्रह गर्दछ ।
केही दिन अगाडि ब्राम्हण क्षेत्री, दसनामी , ठकुरी लगायतका संघ संगठन सम्बद्ध संयुक्त संघर्ष समितिले आब्हान गरेको बन्दका क्रममा बन्दकर्ताहरुबाट तनहुका पत्रकार प्रेपप्रसाद पौडेल र प्रकाशचन्द्र भट्टराईमाथि दुब्र्यबहार र कुटपिट भएको थियो । त्यसपछि थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका संयुक्त थारु संघर्ष समितिका कार्यकर्ताले नवलपरासीका पत्रकार हरि शर्मालाई कुटपिट गरी घाइते बनाए । त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवलाई पनि सिंहदरवारबाट थापागाउमा रहेको कोठामा जाने क्रममा अज्ञात व्यक्तिले कुटपिट र दुव्र्यवहार गरेका छन् ।
त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिले गरेको बन्दका क्रममा पनि संचारमाध्यमका गाडी तोडफोड, संचारकर्मीमाथि कुटपिट र दुव्र्यवहार भएको छ । पत्रकार दिनेश गौतमलाई बन्दकर्ताले काठमाडौंमा रड प्रहार गरी घाइते बनाए भने मोटरसाइकल तोडफोड गरे । पत्रकार राजन पराजुलीलाई दुव्र्यवहार गर्दै मोटरसाइकलमा आगजनी गरे । पत्रकार राधेश्याम दाहाल, शक्ति कार्की ,प्रकाश कट्टेल र विकु तामाङमाथि पनि कुपन्डोलको सानेपा नजिकै बन्दकर्ताले दुव्र्यवहार र कुटपिट गर्नुका साथै मोटरसाइकल जलाइदिए । पत्रकार उपेन्द्र शर्मामाथि पनि दुव्र्यहार भएको छ भने उनको मोटरसाइकल तोडफोड गरियो । पत्रकार राजेश चाम्लिङ राई ,शम्भुकुमार प्रसाई, विजय चाम्लिङ लगायतका पत्रकारमाथि पनि बन्दकर्ताले दुव्र्यवहार र हातपात गरे ।
क्यामेरापर्सन वाइपी घिमिरेमाथि कुटपिट गर्दै बन्दकर्ताले उनको मोटरसाइकल जलाइदिए । पत्रकार दिपेन्द्र कार्कीलाई पनि दुव्र्यवाहार गर्दै बन्दकर्ताले मोटरसाइकल तोडफोड गरे । त्यस्तै पत्रिका वितरण गरेर फर्किएको कान्तिपुर पब्लिकेशनको गाडीपनि बन्दकर्ताहरुले तोडफोड गरे भने कान्तिपुर टेलिभिजनको गाडी पनि तोडफोड गरियो । एबीसी टेलिभिजनको गाडी चावहिलमा तोडफोड गरे भने मोटरसाइकल पनि ग्वार्कोमा तोडफोड गरे । बौद्धमा बन्दकर्ताले एभिन्युज टेलिभिजनको गाडी पनि तोडफोड गरे । पत्रकार प्रकाश गुरागाईलाई दुव्र्यहार गरियो भने उनको मोटरसाइकलपनि तोडफोड गरियो । पत्रकार रोहित भण्डारीमाथि कुटपिट भएको छ भने चावहिलमा नेपाल वान टेलिभिजनको गाडी तोडफोड र पत्रकार कविता अधिकारी र मंगल लामामाथि दुव्र्यवहार र कुटपिट भएको छ । पत्रकार शम्भु दंगालमाथि लाठी प्रहार भएको छ भने सगरमाथा टेलिभिजनका पत्रकारहरु सरल गुरुङ, सतिश सुवेदी, अक्कल कुवर र पुण्य धमलामाथि बन्दकर्ताले हातपात गरेका छन् । मोरङमा पत्रकारहरु गणेश निरौला, धुरव भट्टराई र सुरेश घिमिरेलाई बन्दकर्ताहरुले ४५ मिनेट नियन्त्रणमा लिएर दुव्र्यवहार गरेका छन् भने सुनसरीको तरहरामा पत्रकार दामोदर गुरागाईलाई दुव्र्यवहार गरेका छन् । सिन्धुलीमा जनबोली दैनिक पत्रिका जलाउनुका साथै नेपालगञ्जबाट बुटवल पत्रिका पुर्‍याएर फकिर्एको नागरिक दैनिकको गाडीमा बन्दकर्ताबाट तोडफोड भएको छ । पत्रकार नवराज चालिसेलाई चावहिल चोकमा कुटपिट गर्नुका साथै मोटरसाइकल तोडफोड गरेका छन् । पत्रकार रामशुभक महतो र क्यामेरा पर्सन केशव निरौलामाथि ललितपुरको ग्वार्कोमा कुटपिट गरिएको छ । महतो र निरौलाका साथमा रहेको टेलिभिजन क्यामरा पनि लुटिएको छ । पत्रकार गोविन्द परियारलाई बन्दकर्ताले चावहिल चोकमा आक्रमण गर्नुका साथै मोटरसाइकल तोडफोड गरेका छन् । नेपाल टेलिभिजनका क्यामेरा पर्सन शिव पंगेनीलाई बन्दकर्ताले ललितपुरको सातदोबाटोमा दुव्र्यवहार गरेका छन् ।
सगरमाथा टेलिभिजनका चितवन सम्वाददाता प्रकाश अधिकारीलाई बन्दकर्ताले दुव्र्यवहार गर्दै मोटरसाइकल तोडफोड गरेका छन् भने नारायणगढमा गोरखापत्र बोकेर गएको गाडी तोडफोड गरेका छन् । चितवनका पत्रकार राधेश्याम खतिवडाको मोटरसाइकल पनि बन्दकर्ताले तोडफोड गरेका छन् । ललितपुरको ग्वार्कोचोकमा पत्रकार रामेश्वर सापकोटा, धर्मेन्द्र सापकोटा र क्यामेरा पर्सन प्रतिक्षा शर्मा र मुक्ति श्रेष्ठ एवं अभियान दैनिकका पत्रकार अशोक तुलाधरमाथि दुव्र्यवहार गर्नुका साथै रड प्रहार गरी कुटपिट भएको छ । ग्वार्को चोकमै न्यूज २४ टेलिभिजनका पत्रकार नवराज श्रेष्ठ र निर्मल वलीलाई दुव्र्यवहार र कुटपिट गरिएको छ । कारोबार दैनिकका पत्रकार पवन वर्षा शाहको मोटरसाइकलपनि बन्दकर्ताले तोडफोड गरेका छन् । सौर्य दैनिकका पत्रकार रामहरि पाण्डेलाई चावहिलको मित्रपार्कमा बन्दकर्ताले दुव्र्यवहार गरेका छन् । यसरी बन्दका क्रममा पत्रकारहरुमाथि भएका आक्रमणहरुको नेपाल अमेरिका पत्रकार संघ घोर निन्दा र भत्र्सना गर्दछ । साथै घाइते पत्रकारहरुमाथि उपचारको माग गर्दै पत्रकारलाई यथासक्य चाडो सुरक्षा प्रदान गर्न राज्यसंग माग समेत गर्दछ । नेपाल अमेरिका पत्रकार संघ घाइते पत्रकारहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।
अध्यक्ष
आङछिरिङ शेर्पा
महासचिव
किशोर पन्थी
२२ मे २०१२

Share

Leave A Response »