हिमाली स्वरहरु – एएनएको ३१ औं सम्मेलन सम्पन्न

एएनएको ३१ औं सम्मेलन सम्पन्न

admin July 7, 2013 0
एएनएको ३१ औं सम्मेलन  सम्पन्न
वेस्टचेस्टर, न्युयोर्क ।
अमेरिकामा रहेका नेपालीहरूको छाता संस्था द एशोसियन अफ नेपालिज इन द अमेरिकाज (एएनए) को ३१ औं सम्मेलन न्युयोर्कको वेस्टचेस्टरमा सम्पन्न भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ आयोजना गरिएको सम्मेलन सफल भएको एएनएका अन्तरिम अध्यक्ष छेवाड. शेर्पालामाले बताउनु भएको प्रेस विज्ञप्तिमा जनाइएको छ । उहाँले पछिल्ला तीन सम्मेलनले एएनएलाई ठिक बाटोमा डोहोर्याएर अब हिड्ने स्थितिमा ल्याइपुर्याएको बताउँनु हुँदै आफ्नो मार्गचित्र अनुसार नै एएनए अगाडि बढिरहेको जानकारी दिनुभयो । सम्मेलनमा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति, एएनए र एनआरएनका बिचमा उच्चस्तरीय सहकार्यको वातावरण निर्माण, समसामयिक विषयवस्तुमाथि आयोजना गरिएका विभिन्न फोरमहरु, १० वर्षपछि महको प्रस्तुति, २ वटा गिनिज बुक अफ वल्र्ड रेकड्र्सको लागी गरिएको विशेष प्रस्तुति , आर्थिक समृद्धिको एजेण्डालाई अगाडि बढाउने सार्थक पहल का फोरमहरु थिए । अध्यक्ष सेर्पाका अनुसार आगामी वर्षको ३२ औं एएनए सम्मेलन क्लोराडो, लस एन्जलस, न्युजर्सी या न्युयोर्कमा नै गर्ने भन्ने विषयमा छलफल भइरहेको र केही महिना भित्रै एएनएले आगामी सम्मेलन कंहा गर्ने भन्ने विषयमा निर्णय गर्ने जानकारी दिनुभयो ।
एएनए ३१ औं सम्मेलनका मुख्य संयोजक समीर महर्जनले सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै सहयोगी, सहकर्मी, सहभागी सबैलाई धन्यवाद दिनु भयो । उहाँले ठुलो कार्यक्रम आयोजना गर्दा हुने सानातिना कमीकमजोरी भए पनि समग्रमा सम्मेलन सफल भएकाले आफूलाई दिइएको जिम्मेवारी निर्वाह गर्न सकेकोमा सन्तोष व्यक्त गर्नुभयो ।
अमेरिकाका लागि नेपाली राजदूत डा. शङ्कर प्रसाद शर्माले सम्मेलनमा आयोजना गरिएका विभिन्न फोरमहरु अत्यन्त समसामयिक भएको बताउनु हुँदै यी फोरममा भएको छलफलले नेपालमा लगानीका लागि वातावरण बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सफल आयोजनाका लागि आयोजकहरुलाई धन्यवाद पनि दिनुभयो ।
मेरिल्याण्ड र पेन्सेल्भेनिया राज्यका लागि अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले अमेरिकामा विभिन्न राज्यमा छरिएर रहेका हजारौँ नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अनुहारमा मुस्कानसहित न्युयोर्कमा देख्न पाउँदा खुसी लागेको बताउनु भयो ।
क्यालिफोर्निया सानडियागो क्षेत्रका लागि नेपाली अवैतनिक वाणिज्यदूत ऋषि ढकालले सम्मेलनका क्रममा तीनदिनसम्म हजारौँ नेपाली एक ठाउँमा भेला भएर आफ्नो मातृभूमिको विकासका लागि छलफल गर्नु आपसमा चिनापर्ची गर्दै विविध सांस्कृतिक कार्यक्रममा सहभागी भएर रमाउनु आफैँमा ठुलो उपलब्धि भएको बताउनु हुँदै यसबाट नेपालीहरुमा भावनात्मक सम्बन्ध अरू प्रगाढ हुने बताउनु भयो ।
सम्मेलनमा सहभागी हुन नेपालबाट आउनु भएका संस्कृतिविद् एवं कवि तुलसी दिवसले सम्मेलनमा साहित्यिक एवं सांस्कृतिक कार्यक्रमलाई महत्व दिइएकोमा प्रशंसा गर्दै यसबाट अमेरिकामा रहेका नेपालीहरू आफ्नो मातृभूमिप्रति अझ नजिकको साइनो बनाउन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
एएनए ३१ औं सम्मेलनको बिहीबार  एक समारोहबीच नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले उद्घाटन गर्नुभएको थियो । सम्मेलनका विशेष अतिथि नेपाली काँग्रेसका सभापति सुशील कोइराला हुनुहुन्थ्यो । उद्घाटन अघि वहुभाषिक, बहुसांस्कृतिक नेपाल झल्कने सांस्कृतिक परेड प्रस्तुत गरिएको थियो । परेडमा विभिन्न जाति जनजातिका सांस्कृतिक झाँकीका साथै अतिथि एवं सहभागीहरुको ठुलो सहभागिता रहेको थियो ।
सम्मेलनका क्रममा ट्रेड  सो, अन्तरसंवाद, कविता महोत्सव, चलचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रम, फेसन एक्स्ट भ्यागेन्जा, ट्यालेन्ट सो, खेलकुद प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिएको थियो ।
सूर्य थापा
संयोजक, मिडिया
३१ औं एएनए सम्मेलन, न्यूयोर्क 

​,​

२०१३

७ जुलाई, २०१३


Share

Leave A Response »