हिमाली स्वरहरु – ”प्रभाव” गीति एल्बमको विमोचन (Photos/Video)

”प्रभाव” गीति एल्बमको विमोचन (Photos/Video)

admin September 25, 2013 0

”प्रभाव” गीति एल्बमको विमोचन समारोहका सन्दर्भमा प्रेस विज्ञप्ति

न्यू योर्क, संयुक्त राज्य अमेरिका
संयुक्त राज्य अमेरिकामा रही विगत दुई दशकदेखि नेपाली साहित्यको क्षेत्रमा मूलत गीत र कविता विधामा सक्रिय रहेकी गीतकार ज्योति पौडेलद्वारा रचना गरिएका गीतहरुको गीतिचक्का (गीति एल्बम) “प्रभाव” को एक भव्य समारोहका बिच संयुक्त राष्ट्र संघका उपमहासचिव श्री ज्ञानचन्द्र आचार्यले न्यू योर्क ज्याक्सन हाइट स्थित हिमालयन याक रेष्टुरेण्टको सभाहलमा यही सेप्टेम्बर २२, २०१३ (वि.सं असोज ६, २०७०) मा विमोचन गर्नुभयो । संगीतकार आलोक शर्माद्वारा संगीतबद्ध गरिएको उक्त गीति एल्बमका गीतहरू “तिमी जस्ती पाइनँ” मा रामचन्द्र काफ्ले, “गोरेटोमा” मा अञ्जु पन्त, “न्याउली चरी” मा भानुभक्त ढकाल ”आयो कोही मेरो मनमा” मा आलोक शर्मा÷इन्दिरा जोशी र “हाम्रो बाटो” मा स्वरुपराज आचार्यले स्वर दिनुभएको छ । यो एल्बम प्रकाशन पूर्व गीतकार ज्योति पौडेलका “मन त मेरो स्वदेश मै — सन् २००५”, “ज्योतिका गीतहरू— २००७”, र “त्रिवेणी” संयुक्त गीति एल्बम २०१३ प्रकाशित भइसकेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष श्रीमती गीता खत्रीको सभापतित्वमा भएको उक्त विमोचन समारोहको सञ्चालन हिमाली स्वरहरू रेडियोका संस्थापक÷सञ्चालक सहदेव पौडेलले गर्नुभएको थियो । अध्यक्ष गीता खत्रीले गीतकार ज्योति पौडेललाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि ज्ञानचन्द्र आचार्य, प्रख्यात गीति नाटक “मालती—मङ्गले”, “शकुन्तला” र “देवकी” नाटकहरुमा नायकको सफल भूमिका निर्वाह गरिसक्नुभएका नेपाल स्थित सङ्गीत—नाट्य एकेडेमीका प्राज्ञ हरिबहादुर थापा, समाजसेवी डा. तारा निरौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्क च्याप्टरका अध्यक्ष श्रीमती पूनम काफ्ले, प्रसिद्ध गायक यम बराल, अमेरिका नेपाल फ्रेण्डसिप सोसाइटिका अध्यक्ष श्रीमती परिता राजभण्डारी, प्रसिद्ध गीतकार गगन विरही, नरेन्द्र प्यासी, किसन सिंह धामी, सुकर्मका सञ्चालक ध्रुवेश रेग्मी, सङ्गीत तथा गायककार आलोक शर्मा, कलाकर्मी सुवर्ण क्षेत्री, रामराज क्षेत्री, सीता खरेल, मनुलोहरुङ्ग राई, शैलेश श्रेष्ठ, नरबहादुर दाहाल, गायिका मेनका पोखरेल, शकुन्तला ज्ञवाली, जगदीश उपाध्याय, न्यू योर्कमा कानुन व्यवसाय गरिरहनुभएका एटर्नी एट ल द्वय गिरिजा गौतम तथा विनोद रोका , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्क च्याप्टरका प्रधान सम्पादक धनिराम सापकोटा लगायत अन्य धेरै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि आचार्यद्वारा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपालको राष्ट्रिय गान “…सयौँ फूलका थुङ्गा हामी …” गाइनुका साथै संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानको धुन बजाइएको थियो । गीतकार ज्योतिका सुपुत्र चिरायु र सुपुत्री आस्था पौडेलले अतिथिहरुलाई खादा ओढाएर स्वागत गर्नुभएको थियो भने गीतकार ज्योतिका श्रीमान बद्री पौडेलले आगन्तुक सबैमा हार्दिक स्वागत तथा आभार प्रकट गर्नुभएको थियो । उक्त अवसरमा यही असौज ७ गते ९५ शरदमा प्रवेश गर्न लाग्नुभएका नेपालका राष्ट्रकवि तथा गीतकार ज्योतिका बुबा श्री माधव घिमिरेले पठाउनु भएको भिडियो सन्देश देखाइएको थियो । जहाँ गए पनि कवयित्री तथा गीतकार ज्योतिले नेपाली साहित्य र सङ्गीतलाई नविर्सिएको प्रमाणका रूपमा “प्रभाव” गीतिचक्काले पुष्टि गरेको छ भन्दै सन्देशमा राष्ट्रकविले गीतलाई प्राण भर्ने सङ्गीत र गायन पाएको छ र सबैलाई हार्दिक बधाई दिन चाहन्छु भन्नु भएको छ । यस्तै “प्रभाव” एल्बममा सुमधुर स्वर दिनुभए मध्यका प्रख्यात गायिका अञ्जु पन्त र स्वरुपराज आचार्यको पनि भिडियो सन्देश देखाइएको थियो ।

PrabhabIMG_7421IMG_7419IMG_7415IMG_7416IMG_7414
IMG_7410IMG_7409IMG_7408IMG_7407IMG_7406IMG_7405
_MG_7561_MG_7556_MG_7552_MG_7548_MG_7542_MG_7541
_MG_7531_MG_7490_MG_7495_MG_7496_MG_7499_MG_7501

ज्योती पौडेलको "प्रभाव" गीति अल्बम विमोचन ​, a set on Flickr.

यसै क्रममा श्रीमती रेनू उपाध्यायले गीतकार ज्योतिलाई फूलको गुच्छा दिएर स्वागत गर्नु भएको थियो भने जगदीश उपाध्यायले राष्ट्रकवि माधव घिमिरेलाई नमन गर्दै गीतकारको साहित्यिक यात्राका बारेमा प्रकाश पार्नुभएको थियो । साथै युवा गायक तथा संगीतकार आलोक शर्मा व्यापार प्रशासनमा ब्रशेल्समा उच्च अध्ययन गरेर युरोपमा “आबृती” नामक गीति एल्बम निकालेर गीत र सङ्गीतका क्षेत्रमा भरपर्दो आशा दिलाउँदै उदाएका छन् भन्ने धारणा राख्नुभएको थियो । यसै बिच युवा सङ्गीतकार आलोक शर्माले “तिमी जस्ती पाइनँ” भन्ने गीतलाई ट्रयाकमा गाउँदै गर्दा सहभागीहरू स्वतस्फुर्त रूपमा मञ्चमा आई नाच्न पुगेका थिए । कार्यक्रमको बिच बिचमा “प्रभाव” एल्बममा समेटिएको “न्याउली चरी” को भिडियो लगायत एल्बमका गीतहरू बजाइएको थियो जुन श्रोताहरुले मन्त्रमुग्ध भएर सुनिदिनु भएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रधान सम्पादक धनिराम सापकोटाले राष्ट्रकवि माधव घिमिरेको ९५ औ जन्मदिनको उपलक्षमा उहाँको सुदीर्घ जीवनको कामना गर्दै “प्रभाव” एल्बममा समाहित पाँचवटा गीतहरुका बारेमा प्रकाश पार्नुभएको थियो । सत्यको प्रकटीकरण संवाद र कला दुवै माध्यमबाट हुने गर्छ भन्दै गीतकार ज्योतिका गीतहरुले आम श्रोताभोक्ताहरुको भावनालाई प्राकृतिक विम्व र उपमाको सहारा लिएर अरूले देखेको भोगेको र अनुभूति गरेको सत्यलाई कल्पनाशीलताको रङ्ग चढाएर हामी बिच पस्कनु भएको छ भन्ने धारणा व्यक्त गर्नुभयो । निजले साहित्य अनुभूतिको विषय भएको, गीतमा सङ्गीत र स्वरको खंदिलो रूपमा एकाकार हुने हुनाले विवेचना गर्ने कार्य त्यति सहज नहुने धारणा राख्नुभएको थियो । यसै क्रममा संयुक्त राष्ट्र सङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्यले ज्योतिका गीतहरुमा मन छुने खालका शब्दहरूको चयन भएको छ भन्दै साहित्य, सङ्गीत र कलाले देशको पहिचानका अतिरिक्त नेपाली हुनुको भाव बोकेको छ भन्दै गीतका साथमा आएको सङ्गीतको झंकारले मानवमस्तिष्कको रेसा रेसामा सञ्चार प्रवाह गर्दछ भन्ने धारणा राख्नुभएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू योर्कका अध्यक्ष पूनम काफ्लेले ज्योतिका गीतहरू सुन्दर रचना भएको, प्रेमभाव, मायाप्रीति, संस्कृति, वन्धुत्व र देशको माटो बोलेका छन् र गीतले हाम्रो मुटु छोएका छन् भन्ने धारणा राख्नुभएको थियो । यस्तै गायक यम बरालले “प्रभाव” को राम्रो प्रभाव रहोस् र सफल होस् भन्ने शुभकामना दिनुभएको थियो । यु —ट्युव आदिले पहिल्यै रचना सार्वजनिक गर्दा कलाकारलाई गाह्रो परेको कुरा राख्नुभएको थियो । यस्तै श्रीमती परिता राजभण्डारीले ज्योतिको परिवारलाई हार्दिक बधाई दिनुका साथै “प्रभाव” अत्यन्तै प्रभावशाली हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
यसै क्रममा गीतकार ज्योति पौडेलले आफ्ना बुबामुमा लगायत सम्पूर्ण साहित्यानुरागीहरुको आशीर्वादको अपेक्षा गर्दै आँफू कसरी घरको साहित्यिक वातावरणका कारण समेतले नेपाली साहित्यको सेवामा लाग्दै अहिले सम्मको यात्रा तय गरेँ भन्ने विषयलाई प्रस्ट पार्दै सानो अवस्थामा आफ्ना पिता राष्ट्रकविले लेख्नुभएका बालकविताहरु जस्तै –ए मान्छेको बच्चा, भईंमा लडिबडी, ढुकुरका जोडाजोडी, भंगेरा र भंगेरीले आफ्नो बालमस्तिष्कमा पारेको प्रभाव र प्रेरणाका बारेमा चर्चा गर्नुभयो । आफ्ना पिताको आग्रहमा अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएकी गीतकार ज्योति अंगे्रजी कवि तथा साहित्यकार र त्यसमा पनि लर्ड वाइरनको रहस्यबादबाट विशेष प्रभावित रहेको विचार व्यक्त गर्नुभएको थियो । कविता र गीत त्यसमा पनि अनुष्टुप छन्द र असारे भाकाका गीत लेखनमा विशेष रुचि राख्ने ज्योतिले छिटै नै कथा सङ्ग्रह र खण्डकाव्य पनि प्रकाशन गर्न लागेको जानकारी गराउनु भयो । एकान्तमा बस्ता आफ्नो मन सधैँ स्वदेशकै पाखा पखेरा र प्राकृतिक वातावरणसंग एकाकार हुने गरेको, न्यू योर्कको व्यस्त सहरमा बस्ता पनि आफ्नो मनमस्तिष्कमा नेपालकै हिमाल, पहाड, तराई, नदी छेउ आसपासमा कोइली कराएको अनुभूति हुने भन्दै यो एल्बममा समाहित गीतहरू साथीहरुसंगको जमघटमा साथीहरुकै भावनामा एकाकार भएर साथीहरुकै लागि यथार्थमा आधारित भएर लेखेको भन्ने जानकारी दिँदै श्रोताहरुबाट पर्याप्त समीक्षा पाउने आशा व्यक्त गर्नुभएको थियो ।
युवा गायक तथा संगीतकार आलोक शर्माले यो “प्रभाव” एल्बम तयार पार्दा नेपालमा १८÷१८ घण्टा लोडसेडिङ्ग हुने समयमा पनि आफ्नो व्यस्तताका बावजुद यसमा वाद्यवादन गर्नुहुने र स्वर दिनुहुने सबै प्रति कृतज्ञता व्यक्त गर्दै यो “प्रभाव” गीति एल्बममा गीतकार ज्योतिमा आफ्ना पिताको प्रभाव परेको अनि आँफू संगीतकार बन्नुमा आफ्ना स्वर्गीय जिजुबुवाहरु श्री देव शर्मा र झलक शर्माको प्रेरणा र प्रभाव परेका कारणले यो एल्बमको नामाकरण नै “प्रभाव” हुन पुगेको वास्तविकता खोल्दै आफ्ना सङ्गीत शिक्षक भानुभक्त ढकाल प्रति विशेष कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
मन्तव्यकै क्रममा नेपाल सङ्गीत नाट्य एकेडेमीका प्राज्ञ हरिबहादुर थापाले आँफूले राष्ट्रकविका तीनवटा गीति नाटकमा मुख्य नायकको भूमिका निभएको सन्दर्भ प्रष्ट्याउँदै गीतकार ज्योतिलाई गीति नाटक पनि लेख्न अनुरोध गर्नुभएको थियो र आँफूले उक्त नाटकमा पनि अभिनय गर्ने इच्छा रहेको बताउनुभएको थियो । यसै क्रममा गायिका मेनका पोखरेलले “गोरेटोमा नौला पाइला” गीतलाई गाइदिएर उपस्थित सबैलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।
गायक नरेन्द्र प्यासीले यो गीति एल्बममा आफ्नो स्वर दिने चाहना हुँदा हुँदै परिस्थितिले तालमेलमा सहयोग नगरेको भन्दै भविष्यमा ज्योतिका गीतमा स्वर दिने इच्छा रहेको जानकारी दिनुभयो । यो एल्बमको थप विशिष्टता भनेको गीतको छायाङ्कनमा पनि गायककार, संगीतकार र वाद्यवादकलाई नै देखाउनुले सम्बन्धित कलाकार प्रति एल्बमले न्याय गरेको कुरा प्रस्ट पार्नुभयो । कलाकारले सङ्ख्यामा होइन, गुणात्मकतामा जोड दिनु पर्ने हुन्छ अनि कलाकारको नाम चलेर मात्र घरको माम चल्नुपर्छ भन्ने कुरा हेक्का राख्न सबैलाई आग्रह गर्नुभयो । एल्बमका लागि शुभकामना दिँदै प्यासीले यसमा प्रकुति, प्रेमसम्बन्ध, बिछोड आदि सबैको संयोग रहेको र ख्यातिप्राप्त कलाकारहरुको स्वर प्राप्त भएकोमा खुसी लागेको धारणा राख्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष गीता खत्रीले सभा विसर्जन गर्दै गीतकार ज्योतिका गीतमा देशभक्ति, मिलन, बिछोड आदि समाहित भएको भन्दै न्यू योर्क सहरमा प्रत्येक महिनामा गरिने “सृजनाका यात्राहरु” नामक कविता वाचन कार्यक्रमले अझ साहित्यकारहरुमा निखार ल्याउने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यालयको तर्फबाट धन्यवाद पनि दिनुभएको थियो ।



Share

Leave A Response »