हिमाली स्वरहरु – भीमदत्त- ऐतिहासिक पात्रको ब्यबसायिक प्रस्तुति

भीमदत्त- ऐतिहासिक पात्रको ब्यबसायिक प्रस्तुति

admin April 8, 2014 0
भीमदत्त- ऐतिहासिक पात्रको ब्यबसायिक प्रस्तुति

चलचित्र समीक्षा
भीमदत्त- ऐतिहासिक पात्रको ब्यबसायिक प्रस्तुति
सहदेव पौडेल

न्यु योर्क, वुड साइडमा रहेको सेन्ट्रल सिनेमा घरमा अप्रिल ६ गते आइतबारका दिन निकै ताम झामका साथ नेपाली चलचित्र “भिमदत्त” को प्रिमियर शो गरियो। चलचित्रका निर्देशक, निर्माता र केही कलाकारहरुको उपस्थितिमा सम्पन्न उक्त प्रदर्शनीमा पत्रकार लगायत नेपाली समुदायका निम्तालु दर्शकहरुको बाक्लो उपस्थिति थियो । ऐतिहासिक व्यक्तित्वको जिबनीमा आधारित चलचित्र भन्ने थाहा पाए पछि म पनि उत्सहित् भएर चलचित्र हेर्न गएँ।

देशको वर्तमान राजनीतिक परिवेशबाट रुष्ट छन् देशका केही जुझारु युवाहरु। उनीहरु देशका घुसिया नेता र व्यापारीको टाउको काट्दै टुँडिखेलमा झुण्डाउदै हिड्छन। यी पात्रहरु हुन् – पूर्व सभासद, पूर्व प्रहरी, आम नागरिक र अधिकारकर्मी। कथाका यी मुख्य पात्रहरु इतिहासका ति महत्वपूर्ण पात्र, जसको त्यति धेरै चर्चा छैन, जसले राणा शासन कालमा राज्यको विरुद्ध र किसानको हितमा आवाज र हात हतियार उठाएर लडें र लड्दा लड्दै सरकारले उनको विभत्स हत्या गर्‍यो – तीनै पात्र भीमदत्त पन्तको जीवन खोज्दै, गीत गाउदै सुदुर पश्चिम पुग्छन। यो क्रममा उनीहरु दर्शकलाई आफुले भोगेको जीवन कथा पनि सुनाउछन र भीमदत्तको पनि जीवनी सुन्छन। यिनै कथाहरुमा आधारित छ चलचित्र भीमदत्त।

निर्माता एवं निर्देशकहरुले इतिहासका एउटा लुकेको पात्रको जीवन कथालाई चलचित्रमा उतार्ने जुन प्रयास गरे त्यो सर्हानिय छ । चलचित्रको आफ्नै शैली र भाषा हुन्छ, जुन भाषा र शैलीबाट भीमदत्तकोजीबनी देखाउन खोजिएको छ त्यो भने निकै कमजोर छ। भीमदत्तको कथालाई निकै बिभत्स र चलन चल्तीको सिनेमाको फर्मुलाबाट निर्देशक हिम ग्याप लामा “टासी”ले प्रस्तुत गर्नु भएको छ । हिमदत्तको बारेमा खोजी गर्दै सुदुर पश्चिम पुगेका पात्रहरुले बाटोमा हिड्दै गर्दा एक वृद्धलाई भेट्छन। २०१० साल तिर मारिएका भिमदत्तको बारेमा उक्त बृद्दलाइ कसरि सबै कथा थाहा हुन्छ? कथाको सुरुवात यही बाट चित्त नबुझ्ने किसिमले अगाडी बढ्छ।

अस्वाभाविक लामो कपाल र जुँगामा सजिएका नायक नबल खडकाले भीमदत्तको व्यक्तित्व भन्दा पनि कुनै हिंसात्मक चलचित्रका सुपर नायकको शैलीमा अभिनय गरेका छन्। लामो कपाल हल्लाउदै,चर्को स्वरमा संवाद बोलेको सुन्दा र एकै सम्बादमा एउटा लाइन स्थानीय लबजमा, अर्को लाइन ठेट नेपाली र फेरी हिन्दी मिसाएर बोल्दा एतिहासिक पात्रको जीवनीमा आधारित चलचित्र हेर्दै छु भन्ने भान पटक्कै पर्दैन। भारत विरोधी नेताले कुनै कुनै संवाद हिन्दीमा किन बोले मैले बुझिन। साथै चलचित्रका मुख्य पात्रहरु सुकिला मुकिला हुने र सर्वसाधारण चाही धुले मैले देखाउनु, ६०/ ७० वर्ष अघिको घटना क्रममा त्यो परिवेश नदेखिनु चलचित्रको कमजोरी हो, यदि ऐतिहासिक चलचित्र हो भने सङ्गीत, चलचित्रको सेटिंग, लवज, र पात्र पोशाकमा ती तत्वहरु देखिनु पर्छ। चलचित्रमा देखाइएको द्वन्दका दृष्यहरु अन्त्यन्तै सस्तो किसिमले हिंसात्मक देखाइएको छ।

ऐतिहासिक पात्रको जीवनीमा आधारित चलचित्र सबैले हेर्न मिल्ने, शिक्षा र जानकारीमुलक पनि हुनु पर्छ। भीमदत्तको हिंसात्मक अन्त्य भयो र उनले पनि हात हतियार जम्मा पारेर हिंसा नै रोजेका रहेछन तर यी दृश्यहरुलाई पर्दामा सृजनात्मक किसिमिले देखाउन सक्नु पर्थ्यो। त्यसै गरि भीमदत्तको जीबनी खोज्न हिडेका पात्रहरुको उपकथाले यो चलचित्रलाई सुत्रबद्द ब्यबसायिक रूप दिएको छ। जस्तो कि एउटा बलात्कारको दृश्य। चलचित्रको अन्त्यमा हत्याकै शृंखलाले निरन्तरता पाएकोले गर्दा “भीमदत्त”ले हिंसाकै बाटो ठिक हो कि भन्ने देखाउन खोजे जस्तो पनि देखिन्छ।

नेपाली चलचित्रको निर्माण शैली बदलिरहेको छ। इतिहासमा लुकेका यस्ता पात्रहरुको चलचित्र बन्नु पर्छ। तर यस्तो ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित कथालाई चलचित्रको ब्यबसायिक मसला हाल्नु हुन्नथ्यो। यो हिंसात्मक चलचित्र हेरेर मन खलबल्याउनु भन्दा भीमदत्त पन्तको बारेमा जान्नु छ भने कुनै इतिहासिक पुस्तक अध्ययन गरे धेरै राम्रो ज्ञान लिन सकिन्छ।

गोल्डेन आई फिल्म्सले निर्माण गरेको चलचित्र भीमदत्तमा नवल खड्काको साथमा निशा अधिकारी ,सुमिना घिमिरे, श्रीराम पुडासैनी, रमेश बुढाथोकी, लय संग्रौला,सञ्जय खतिवडा,कविता शर्मा आदिले अभिनय गर्नु भएको छ । चलचित्रको निर्माताहरु विष्णु थेबे, अनुराधा शाह, र रामशरण बस्नेत हुनुहुन्छ भने भीमदत्तको गीत र कथा मणी थापा लेखका छन् र सङ्गीत पनि मणी थापाले नै दिनु भएको छ । यसको नृत्य निर्देशन निर्देशक हिमज्ञाप लामा “टासी” आफैँले गर्नु भएको छ । यो चलचित्र नेपालमा भने प्रदर्शन गरिएको छैन।


bhimdatta

Share

Leave A Response »