हिमाली स्वरहरु – चलचित्र “सोल्ड”-छोरीचेली बेचबिखनको व्यथा

चलचित्र “सोल्ड”-छोरीचेली बेचबिखनको व्यथा

admin July 29, 2014 0

चलचित्र “सोल्ड”-छोरीचेली बेचबिखनको व्यथा
सहदेव पौडेल

बर्षौं देखि नेपाली छोरीचेलीको बेच बिखनको कथा सुन्नु भएकाहरुको लागी जेफ्री ब्राउनको चलचित्र “सोल्ड”को कथा नयाँ नौलो नलाग्न सक्छ तथापि “सोल्ड”ले भारतको बेश्यालयमा वर्षेनी पुर्याइने साना तथा निर्दोष बालिकाको मर्मस्पर्सी कथा नेपाली पात्र लक्ष्मी पात्र मार्फत प्रस्तुत गरेर विश्व समुदायलाई तरंगित गरेको छ।

गरिबी, अशिक्षा अनि घरमा टिनको छाना फेर्ने रहर,नजिकका आफन्तहरुले मिठा मिठा सपना देखाएर काम र दामको प्रलोभनमा सहर लैजाने, नेपाल-भारतको खुल्ला सिमानाबाट सजिलै दिनहुँ १०/१२ वर्षका छोरी चेलीहरु भारतको बेश्यालयमा पुग्ने, बेश्यालयको नारकीय जीवन, बल्ल तल्ल बेश्यालयबाट भागेर गाउँ घर फर्के पछि घर परिवारले नस्वीकार्ने आदि जीवन कथाहरू हामीले यस्तो नारकीय जीवन भोग्नेहरुबाट सुनेका छौँ ,धेरै सडक वा रेडियो नाटकहरु वा चलचित्रहरु मार्फत सुने/ देखेका छौँ, वा पत्र पत्रिकामा पढेका छौँ।

चलचित्र “सोल्ड”ले लक्ष्मी पात्रको त्यस्तै मार्मिक कथा प्रस्तुत गर्छ। कथाले सबैको मन छुन्छ र फेरी विश्व समुदायलाई छोरीचेली बेच बिखन जारी छ है, हामीले यो मानवीय तस्करी रोक्नु पर्छ। छोरीहरुलाई शिक्षित बनाउनु पर्छ भनेर झक्झ्काएको छ।

कुनै मनोरन्जनात्मक चलचित्र हेरे पछि ताली बजाएर हिडे पछि सकिएको जस्तो होइन चलचित्र “सोल्ड” । ताली अवश्य पनि लेखक, कलाकार, निर्माता र निर्देशकलाई जसले साहस गरेर यो विषयलाई विश्व सामु लेराउनु भयो तर चलचित्र हेरी सके पछि हातमा हात मिलाएर मानव बेच बिखनको विरुद्धमा उभिन चलचित्र “सोल्ड”ले भने उत्प्रेरणा जगाउन सक्छ।

चलचित्र “सोल्ड” प्याट्रिसिया म्यकोर्मिकको उपन्यास “सोल्ड”मा आधारित छ। यो चलचित्र न्यु योर्कमा आयोजना भै रहेको एसियन अमेरिकन इन्टरनेसनल फिल्म फेस्टिभलको पहिलो दिन एसिया सोसाइटीमा प्रदर्शन गरिएको थियो। चलचित्रका निर्देशक जेफ्री ब्राउनले १९८६ मा छोटो फिल्म मोल्लीज पिल्ग्रिमबाट अस्कर अवार्ड जितेका थिए। चलचित्रमा लक्ष्मीको भूमिकामा नियार साइकिया, लक्ष्मीको आमाको भूमिकामा सीमा विश्वास, उनको बाको भूमिकामा मदन कृष्ण श्रेष्ठ त्यसै गरी बेश्यालयकि संचालिका मुमताजको भूमिकामा सुस्मिता मुखर्जी, छोरी बेच्ने दिदी बिमलाको भूमिकामा तिलोत्तमा शोमेको अभिनय सम्झना योग्य छ । बेश्यालयका सबै पात्रहरुको भूमिकाले दर्शकलाई बाधी राख्छ। बेश्यालयमानै जन्मी हुर्केका सानो भाइ हरिशको भूमिका गर्ने सप्तर्शी बसु रोय चौधरीको निर्दोष अभिनयले धेरैको मन जित्छ । बेश्यालयको वातावरण, त्यसै परिवेशको दुख र दुख भित्रको रमाइलो नाच गानले पिडालाई थोरै भए पनि छोप्ने प्रयास गर्छन् कथाका पात्रहरु।

लक्ष्मी एउटा प्रतिनिधि पात्र मात्र हुन् र “सोल्ड” एउटा प्रतिनिधि फिल्म हो। यो नेपाली परिवेशको फिल्म हो भनेर हेरेमा केही कुरा चित्त नबुझ्न सक्छ तर समग्रमा “सोल्ड”ले दक्षिण एसियामा भैरहेको साना साना छोरी चेलीको बेच बिखन र उनीहरूको व्यथा र उनीहरूको उद्धारको कथालाई विश्व समुदायका दर्शकहरुको माझमा लेराएको छ। भारतको बेश्यालयमा वर्षेनी हजारौँ छोरीचेली नेपाल लगायत भारत, पाकिस्तानकै पनि थुप्रै छोरीचेलीहरु बेचिन्छन।आज भोलि त भारतमा मात्रै होइन दुबई लगायत थुप्रै देशहरूमा छोरीचेलीहरु बेचिने क्रम बढेको छ। सधैँ सुनिरहेको र देखि पढी रहेको कथा भए पनि चलचित्र “सोल्ड” हेर्नु पर्छ र छोरी चेली बेच बिखन विरुद्धको अभियानमा आ-आफ्नो ठाउँ बाट जे जस्तो गर्न सकिन्छ मिलिजुली केही गर्नु पर्छ।

Share

Leave A Response »