हिमाली स्वरहरु – तेश्रो म:म क्रल सम्पन्न (Photos/Video)

तेश्रो म:म क्रल सम्पन्न (Photos/Video)

admin November 23, 2014 0

तेश्रो म:म क्रल सम्पन्न
कूइन्स, ज्याक्सन हाइट्समा विगत २ वर्ष देखि आयोजना हुँदै आएको “म:म क्रल” को तेस्रो संस्करण यही नोवेम्बर २२, आइतबारका दिन सम्पन्न भएको छ। ज्याक्सन हाइट्स वरपर रहेका १६ वोटा रेस्टुरेन्ट ,फुड ट्रक र फूड कार्टहरुले म:म क्रलमा म:म बेचेका थिए । ज्याक्सन हाइट्समा रहेका परिचित रेस्टुरेन्टहरु हिमालयन याक, थकाली किचेन, हाम्रो भिम्स क्याफे ,दिल्ली हाइट्स, वुड साइड क्याफे, धौलागिरी देखि प्याफुल, लाषा फास्ट फुड क्याफे र सडक किनारमा रहेका फुड कार्ट्स र फुड ट्रकहरु थिए। कार्यक्रममा जो कोही पनि सहभागी हुन् पाउथ्यो तर सहभागीले ३ डलर तिरेर आयोजकले बनाएको म:म क्रल नक्सा लिनु पर्थ्यो। कार्यक्रमको रमाइलो भनेको त्यहि नक्शाको आधारमा म:म पसल खोज्दै म:म चाख्दै जानु हो। हरेक म:म को १ डलर तिर्नु पर्थ्यो। म:म क्रलको नक्सामा सहभागी रेस्टुरेन्टको नाम र ठेगाना उल्लेख गरिएको हुन्थ्यो।

आयोजकहरुले कम्तीमा १ हजार म:म प्रेमीहरुको सहभागिताको आशा गरे पनि करिब ७ देखि ८ सय सम्मले उत्साह पूर्वक म:म क्रलमा सहभागी भएका थिए। दिउँसो २ बजे देखि साँझ ६ बजे सम्म ज्याक्सन हाइट्स चोक भिडले भरि भराउ थियो। म:म बेच्ने सबै पसलमा लामो लाइन थियो। सहभागीहरू कम्तीमा १० मिनेट देखि ३०मिनेट सम्म लाइनमा बसेर म:म को स्वाद लिएका थिए।

स्थानीय दिल्ली हाइट्सका सञ्चालक म:म क्रलका सहभागीलाई म:म बेच्न व्यस्त देखिन्थे र भन्दै थिए यस्तो कार्यक्रमले म:म लाई धेरैको सामु परिचय गराउनुको साथै व्यापारमा पनि सघाउन सहयोग गरेको छ। कार्यक्रममा तातो तातो म: म खान कहिल्यै ज्याक्सन हाइट्स नपुगेकाहरु पनि पुगेका थिए र बाहिरको चिसोलाई तातो म:म ले न्यानो पारेका थिए। हाम्रो भिम्स क्याफेका सञ्चालक आफूले आज मात्रै २ हजार भन्दा बढी म:म बेचेको सुनाउदै हुनुहुन्थ्यो। त्यसै गरी फ्रान्सबाट घुम्दै आएका एक पर्यटक म:म खान पाउदा मक्ख देखिन्थे र पेरिसमा आफूले कहिल्यै म:म नखाएको सुनाउदै थिए। सडककुनामा तातो म:म खादै, हातमा म:म क्रलको नक्सा लिएर सहभागीहरू रेस्टुरेन्टको खोजी गरिरहेकाहरु देख्दा यहाँ कुनै खाना उत्सब भैरहे जस्तो लाग्थ्यो।

कार्यकमका आयोजक जेफ्री अर्लिक सानै देखि ज्याक्सन हाइट्स वरपर हुर्केका हुन् र विभिन्न देशका खानपिनमा विशेष रुचि राख्ने व्यक्ति हुन्। गत वर्षको कार्यक्रममा कम्तीमा ३०/३५ जनाले सहभागिता जनाएको म:म क्रलमा यसपालिको बृहत् सहभागिताले उत्साहित देखिन्थे।ज्याक्सन हाइट्स बाहिरका व्यक्तिहरू आएर यहाँको रेस्टुरेन्ट र खानाहरुको स्वाद लिनुहोस्, र विविध संस्कृतिको ज्ञान लिनुहोस् भन्ने उदेश्यले यो कार्यकम आयोजना गरेको बताउछन जेफ।

कार्यक्रमको अर्को रमाइलो पक्ष के थियो सहभागीहरू आफूलाई मन परेको म:म पसलमा गएर म:म खाई सके पछि आफूलाई मनपरेको रेस्टुरेन्टलाई भोट दिन सक्छन् र जसले यो अवार्ड जित्छ उक्त रेस्टुरेन्टले म:म अवार्ड पाउछ। गत वर्ष यो अवार्ड प्याफुल रेस्टुरेन्टले पाएको थियो भने यो वर्ष ज्याक्सन हाइट्सको एक कुनामा टेलिफोन पसलको भित्र रहेको सानो रेस्टुरेन्ट लाषा फास्ट फुडले जितेको छ। तथापी धेरैले ड़ेंजोंग, दिल्ली हाइट्स, तिब्बत हाउस, धौलागिरी, र अम्दो (फुड ट्रक) को म:म को स्वाद उल्लेखनीय रहेको बताए।

तस्बिर/समाचार/भिडियो
सहदेव पौडेल

Share

Leave A Response »