हिमाली स्वरहरु – एन आर एन अमेरिकाको हार्दिक अपिल

एन आर एन अमेरिकाको हार्दिक अपिल

admin December 19, 2014 0

एन आर एन अमेरिकाको हार्दिक अपिल

संयुक्त राज्य अमेरिकामा रहेका विभिन्न सङ्घ संस्थामा आवद्ध आदरणीय साथीहरू तथा सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरुमा एनआरएन एनसिसी युएसएको वर्तमान कार्यसमिती हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छ ।
यहाँहरुलाई अवगत नै भएको कुरा हो, एनआरएन एनसिसी युएसएको वर्तमान कार्यसमितीले आफ्नो कार्यभार सम्हाले पश्चात् “एक पटकको नेपाली सधैको नेपाली” भन्ने मूल नाराका साथ केही तत्कालीन र केही दीर्घकालीन योजनाका कार्यक्रमहरू लिएर अगाडि बढिरहेको छ । हामीलाई आज तपाइहरू समक्ष यो जानकारी गराउन पाँउदा खुसी लागेको छ की यहाँहरूको अमूल्य मत पाए पश्चात् बनेको यो नयाँ नेतृत्वले निर्वाचनमा यहाँहरु समक्ष राखेका प्रतिबद्धता पुरा गर्ने पथमा सदैव अग्रसर हुने तत्परता देखाएको छ । यसैक्रममा, एनआरएनको अन्र्तराष्ट्रिय समन्वय समिति र एनआरएन एनसिसी युएसएले हाल नेपालको संविधान सभामा प्रतिनिधित्व गरेका राजनैतिक दलहरूसँग महिनौ लगाएर गरेको वार्ता र समझदारीको फलस्वरुप विदेश मा बसोबास गरिरहेका नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता कायमै रहने व्यवस्था आगामी संविधानमा उल्लेख गरिने प्रतिबद्धता दलहरुबाट प्राप्त भएको पनि यहाँ हरुमा सर्वविदितै छ । यसै क्रममा अमेरिकाको विभिन्न सहर हरुमा समय समयमा नेपाली समुदायहरुमा आइपर्ने विभिन्न समस्याहरूको निराकरण, नयाँ एमआरपि पासपोर्टको वितरणमा सहजीकरण तथा यसको अपरिहार्यताको बारेमा जनचेतना र अभिमुखिकरण कार्यक्रम लाई पनि एनआरएन एनसिसी युएसए निरन्तरता दिइरहेको छ । अमेकिामा कार्यरत विभिन्न सरकारी र गैहृ सरकारी सामाजिक सङ्घ संस्थाहरू सँगको समन्वयतामा नेपालको कला, संस्कृति, र पर्यटनको प्रचुर सम्भावनालाई यहाँको विशाल विविध जनसमुदायमाझ प्रचार र प्रवद्र्धन गर्ने अभिप्रायले न्युर्याेकको ज्याक्सन हाईट मा भव्य नेपाली मेला आयोजना गरिएको पनि यहाँहरू समक्ष स्मरण गराउन चाहान्छौ ।

हाल, टड्कारो रुपम जटिल समस्याको रूपमा देखापरेको अमेरिकामा रहेका नेपालीले आफ्नो हस्तलिखित पासपोर्टलाई एमआरपिमा परिवर्तन गर्नबाट नेपाल सरकारबाट वञ्चित गराईएको परिस्थिति लाई मध्यनजर राख्दै उक्त समस्याबाट पार पाउन एनआरएन एनसिसी युएसएले नेपाल सरककारको गृह, परराष्ट्र, र कानुन सचिव सँग जोडदार रूपमा आफ्नो आवाज उठाएकोे फलस्वरुप नेपाल सरकारको कानुन सचिवबाट नेपाली नागरिक रहिरहेसम्म विदेशमा बस्ने नेपालीलाई एमआरपी पासर्पाेट बाट वञ्चित गर्न नमिल्ने व्यवहोराको टिप्पणी फाइल गृह र परराष्ट्र मा सदर गर्न पुगी सकेको अवस्था छ र नयाँ एमआरपि पासर्पोट नविकरण र वितरण कार्य शिघ्रातिशिघ्र हुने खुसी पनि व्यक्त गर्न चाहान्छौ । अमेरिकामा रहेका नेपालीले दोहोरो कर प्रणालीले भोग्नु परेको आर्थिक समस्यालाई समाधान गर्न र यसको पूर्ण रूपमा अन्त्य गर्न हामीले नेपाल सरकारसँग माग गरे बमोजिम अमेरिका र नेपाल सरकारबिच कुरा अगाडी बढिसकेको छ र यो विषयमा अमेरिकी सरकार र नेपाल सरकार बिच छलफल भइरहेको र नेपालको कानुन मन्त्रालयमा प्रक्रिया अगाडी बढिरहेकोले चाँडै नै निचोड आउने कुरा मा विश्वस्त दिलाउन चाहान्छौ । हामीले नेपालीहरूको धेरै बसोबास रहेको न्युयोर्क, न्युजर्सी, बोस्टन र कनेक्टीकट राज्यलाई सेवा दिँदै आएको न्युयोर्कको नेपाली कन्सुलर कार्यालय अलग्गै र सुबिधायुक्त हुनुपर्ने मागलाई जोडदार रूपमा उठाउदै समस्याको समाधान को लागि नेपाल सरकारसँग अनुरोध गरेका थियौँ जसलार्ई सम्बोधन गर्दै अहिलेको बजेटमा यसका लागि रकम छुट्याएको र चाँडै नै न्युर्योकमा अलग्गै सेवा सुरु हुन लागेको पनि सहर्ष जानकारी गराउछौ । अमेरिकामा रहेका नेपालीले भोग्नुपरेको विभिन्न कानुनी तथा अन्य समस्याको समाधानको लागि एउटा कानुनी तथा लेखा समिति को गठन गरी यस सम्बन्धी छुट्टै निःशुल्क परामर्श सेवा दिने कार्यलाई पनि तदारुकताका साथ अगाडि बढाईएको छ । जसको लागि हामीले एनआरएन एनसीसीअमेरिकाको वेभसाईटमा समय र सम्पर्क नम्बर राखेका छौ जसमा सेवाग्राहिहरुले सम्पर्क गरेको खण्डमा हाम्रा विशेषज्ञ साथीहरुबाट उचित परामर्शको व्यवस्था मिलाईने छ । हामीले निर्वाचन पहिला नै अमेरिकामा रहेका नेपालीहरूलाई आपत् परेको समयमा सहयोग गर्ने उद्धेश्यका साथ आपतकालिन राहत कोषको स्थापना गरेका थियौँ र यो पूनितः कार्य लाई हामीले आगामी दिनहरूमा पनि निरन्तरता दिदै जाने प्रतिबद्धता दोहोरयाउछौ । विदेशमा बस्ने नेपालीहरूको पनि नेपालमा हुने निर्बाचनहरुमा मताधिकारको अधिकार सुरक्षित गरिनु पर्दछ भन्ने विषयमा हालै अमेरिका भ्रमणमा आएको नेपालको निर्वाचन आयोगको टोलीसंग एनआरएन एससिसि ले छलफल कार्यक्रम राखेको थियो जसलाई उक्त टोलीले सकारात्मक रूपमा लिई यस सम्बन्धी प्रावधान लागू गर्ने आश्वासान प्राप्त आएको छ । एनआरएन एनसिसी अमेरिकाले अमेरिकामा रहेका नेपालीहरूको हितका लागि काम गर्न सहज होस् भनेर विभिन्न कमिटीहरुको पनि निर्माण सम्पन्न गरेको छ । हामीले हालको कार्यसम्पादनको प्रगतिलाई दृत रूपले अगाडि बढाउन र हाम्रा कार्यक्रमहरुलाई राज्य स्तरमा लैजानका लागि स्थानीय च्याप्टरको गठन आगामी मे, २०१५ भित्र गरिसक्ने लक्ष्य लिएर अगि बढेका छौ । एनआरएन अन्र्तराष्ट्रिय समन्वय समितिले काठमाण्डौमा निर्माण गर्न लागेको एनआरएन को केन्द्रीय कार्यालय भवन निर्माण मा सघाउन एनआरएन अध्यक्ष शेष घलेको उपस्थितिमा एनआरएन एनसिसिको पहलमा अमेरिकाको विभिन्न राज्यहरूमा आयोजित कार्यक्रम बाट ३,७४,००० (तिन लाख चौरहत्तर हजार) अमेरिकन डलर सकंलन गरेका छौ जसलाई सोही प्रयोजनमा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्दछौ । एनआरएन एससिसी अमेरिकाको वर्तमान कार्य समितिले माथि उल्लेख गरिएका साथै समयानुकूल अन्य आवश्यक कार्यहरू गर्दै अगाडि बढ्ने योजना लिएको छ । हाम्रो यस कार्य समितिले समयमै सम्पूर्ण कार्यहरू पुरा गर्दै आगामी मे ३० सम्ममा नयाँ निर्वाचित समितिलाई नेतृत्व हस्तान्तरण गर्ने योजना लिएको पनि जानकारी गराउंदछौं ।

अतः अमेरिका वासी समस्त नेपाली दाजुभाइहरुलाई हामी यो अनुरोध गर्न चाहान्छौ कि गैर आवासीय नेपाली सङ्घ अमेरिका को आगामी कार्यकालको लागि निर्वाचन २०१५ को मे महिना भित्रै गरिने भएकोले उक्त आगामी कार्यकालको लागि मार्ग चित्रको खाका र तयारी २०१५ को जनवरी भित्रै पुरा गर्नु पर्ने भएकोले जनवरी २०१५ को अन्त्य सम्ममा सम्पूर्ण एनआरएन एनसिसी युएसएका सदस्यहरूले आफ्नो सदस्यता नविकरण तथा अन्य महानुभाव हरुलाई नयाँ सदस्यता ग्रहण गरिदिनु एनआरएन एनसिसी युएसए हार्दिक अनुरोध गर्दछ ।

साथै, संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरूमा बसोबास गरिहनु भएका समाजसेवी, पत्रकार, उध्योगी , व्यवसायी , र विभिन्न सङ्घ संस्थामा कार्यरत सम्पूर्ण महानुभावहरुलाइ पनि एनआरएन एनसिसी युएसए जस्तो विशाल छाता रुपि सबैको साझा सङ्गठनमा सक्रिय आवद्धता जनाउन आफ्नो सम्पर्क मा रहेका सबै नेपालीहरूलाई यस संस्थाको सदस्यता लिन उत्प्रेरित गराई एनआरएन एनसिसी युएसए सँग हातेमालो गर्दै अगाडी बढ्नको लागि सहयोग गरिदिनु हुन गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएन एनसिसी युएसए) हार्दिक आव्हान गर्दछ ।

पूनश्चः एनआरएन एनसिसी अमेरिकाको आगामी सदस्यता वितरण र निर्वाचन कार्यतालिका :
सदस्यता लिने या भर्ने म्याद ः जनवरी ३१, २०१५
१.सदस्यता भेरिफिकेशन : फेब्रुअरी १५ देखि मार्च १५, २०१५ सम्म
२.निर्वाचन आयुक्तलाई अन्तिम नामावली बुझाउने म्याद: मार्च १६, २०१५
३.आगामी निर्वाचन मे २४, २०१५ अगाडी नै सम्पन्न गर्ने गरी निर्वाचन आयुक्तबाट निर्वाचनको घोषणा हुने।

कृष्ण पोखरेल
महा-सचिब
एन आर एन एनसिसि युएसए

Share

Leave A Response »